नारायणगढमा ‘मेड इन नेपाल’ प्रदर्शनी हुने

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

'Made in Nepal' exhibition will be held in Narayangadh

चितवन — नयाँ वर्षको अवसर पारेर नारायणगढ क्याम्पाचौरमा चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म ‘मेड इन नेपाल एक्स्पो (प्रदर्शनी) तथा फुड फेष्टिवल’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को चितवन शाखाले उक्त कार्यक्रम गर्न लागेको हो । एक्स्पोमा सयभन्दा बढी स्टल रहने आयोजक संस्थाले शुक्रबार जानकारी गराएको छ ।

एक्स्पोमा कृषि, निर्माण सामाग्री, हस्तकला, परम्परागत कपडा, जस्ता नेपाली उद्यमीका उत्पादन मात्रै राखिने एनवाईइएफका चितवन अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । नव प्रवर्तनशील युवा उद्यमीहरुलाई १० वटा स्टल व्यवस्था गरेको उनले बताए । महिला, ग्रामिण क्षेत्र र अल्पसंख्यक समुदायको प्रतिनिधित्व रहने गरेर सामुदायिक उद्यम स्टल राखेको पनि उनले बताए ।

फेष्टिवलमा थकाली, थारु, तमाङ, नेवारी र तराई क्षेत्रका परिकार पस्कने आयोजकले बताएको छ । खानाका परिकारको विविधताका साथै प्राङ्गारिक उत्पादन र फूड आर्ट डिस्प्ले, लाइभ कुकिङ डमो, फोटो फ्रेन्ड्लिी डिजाइन् जस्ता सिर्जनात्मक गतिविधि पनि हुने छन् । साँझपख नेपालका चर्चित ब्याण्ड र कलाकारबाट साँगेतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले जनाएको छ ।

मेड इन नेपाल प्रदर्शनी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : रमेशकुमार पौडेल–कान्तिपुर ।

कान्तिपुर

Link copied successfully