बागमती प्रदेशसभाको बैठक बुधबार नबस्ने

चैत्र २०, २०८१

सुवास विडारी

The meeting of the Bagmati Provincial Assembly will not be held on Wednesday

मकवानपुर — बागमती प्रदेशसभाको बैठक बुधबार नबस्ने भएको छ । प्रदेशसभा सचिवालयले दिउँसो १ बजे बस्ने बैठकको तयारी गरिरहेको सन्दर्भमा प्रदेश प्रमुखबाट सदनको चालु हिउँदे अधिवेशन अन्त्य भएको पत्र प्राप्त भएसँगै बैठक नबस्ने भएको हो ।

बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मंगलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएका भन्दै प्रतिपक्ष दल माओवादी केन्द्रले बैठक अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख भुवनकुमार पाठकले सहमतिका लागि सदनमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफल गर्दै आएका थिए ।

‘दलहरुबीच छलफल गर्ने र कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखेर सदन सञ्चालन गर्ने तयारी गरिरहेका थियौं । तर, प्रदेश प्रमुखबाट सदनको अधिवेशन अन्त्य भएको पत्र प्राप्त भएसँगै सदन नबस्ने भएको हो ।’, सभामुख पाठकले भने ।

बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully