मकवानपुर — बागमती प्रदेशको बैठक सरेको छ । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सर्वदलीय बैठकमा सहमति हुन नसक्दा बुधबार १ बजेलाई सरेको हो । मंगलबार बिहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निष्कर्षविहीन बनेको छ ।
सभामुख भुवनकुमार पाठकले आह्वान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष बिचको विगतको बजेट माथिको सहमति र पछिल्लो समय भएको सहकारीमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठक सहमतिविहीन बनेको हो ।
सर्वदलीय बैठकमा सहमति भैसके पनि कार्यव्यवस्था परामर्शको बैठकमा विपक्षी दलका केही सांसदहरु असहमति जनाएपछि बैठक सरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले सरकारले विपक्षी दलहरुलाई बेवास्ता गर्दा सहमति जुट्न नसकेको बताए । प्रतिपक्षले विगतका सहमति र केही विषयमा माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको आरोप छ ।
विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारीमन्त्री श्रेष्ठको स्वकीयको छानबिन समिति गठनका विषयमा उठान भएको उनले बताए । सरकारले उचित जवाफ नदिँदा बैठक सहमति जुट्न नसकेको उनले बताए ।
सरकारको प्रतिबद्धता सहितको जवाफ नआए बुधबार बस्ने संसद् पनि अवरुद्ध गर्ने उनले चेतवानी दिएका छन् ।
