सिन्धुपाल्चोक — डढेलो न्यूनीकरणका लागि जिल्लाभरका सामुदायिकसहित अन्य विभिन्न वनमा अग्नीरेखा निर्माण र सरसफाई गर्न थालिएको छ। डढेलो रोक्ने अभियान अर्न्तगत स्थानीय, वन उपभोक्ता समिति पदाधिकारी र उपभोक्ताबीच सचेतना, पूर्व सूचनाको अवधारणाबारे जानकारी दिइएको हो।
डिभिजन वन कार्यार्लय चौताराबाट परिचालित हरित स्वंयसेवकका टिमलिडर शारदाप्रसाद चालिसेका अनुसार जिल्लाभरका ५० भन्दाबढी वनमा अग्नीरेखा निर्माण र सरसफाईसहित सचेतना अभियान गरिएको छ । अभियान भीरखर्क, सुनकोशी, नागिडाँडा, देउराली पाखा, टाडबिसौनालगायत १० वटा सामुदायिक वनमा सम्पन्न भएको छ ।
वनका पदाधिकारी र स्थानीयलाई डढेलो रोक्ने घटना अभ्यास र लाग्न नदिन अपनाउनुपर्ने विधि, पूर्वसूचनाबारे हरित स्वंयसेवक र सव-डिभिजन वन कार्यालय बाह्रबिसेका सन्तोष हुमागाईले प्रशिक्षण गरेका थिए । ‘यहाँको वनमा अग्निरेखा बनाइएको छ र सरसफाई पनि गरियो, अग्निरेखा बनाउने तरिका पनि सिकाइएको छ,’ उनले भने।
अभियानमा नेपाली सेनाको जलेटार व्यारेक, सशस्त्र प्रहरीको लामोसाँघुका सुरक्षाकर्मी पनि सहभागी छन् । सशस्त्र र सेनालाई अग्नीरेखा निर्माण र डढेलोमा अत्यावश्यक सामान तथा उपकरण फायर स्वाटर, रेक हो, जम्प सुट, हेलमेट हस्तान्तरण गरिएको थियो ।
यसअघि विभिन्न भेगमा रहेका वनको डढेलो हरित स्वंयसेवकको अग्ररसतामा नियन्त्रणमा ल्याएका थिए । केही समयअघि चौतारा साँगाचोकगढी–५ स्थित भगवती सामुदायिक वनको डढेलो निभाएर आगो लगाउने एक जनालाई हरित स्वंयसेवकले नियन्त्रणमा लिएर वनलाई बुझाएर दण्ड जरिवाना तिराइएको चालिसेले बताए ।
‘हरित वन वातावरण सिन्धुको सान वनडढेलो रोक्न हरित स्वंयसेवकको महाअभियान’ भन्ने नाराका साथ अभियान र सचेतना अभियान विभिन्न स्थानीय तहमा गरिएको छ । जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार अहिलेसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसखु गाउँपालिका गरी एक दर्जन वनक्षेत्रका ८२ हेक्टरभन्दा बढी वन डढेलोले नष्ट भएको छ । आगलागीमा मानवीय क्षति नभएको हाल सबै वनमा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।
सूचना दिनेलाई ५० हजार पुरस्कार
हेलम्बु गाउँपालिकाले डढेलोको समस्यालाई नियन्त्रण गर्ने अभियान अर्न्तगत एउटा पुरस्कारको व्यवस्था र अभियान गरेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार डढेलो लगाउने व्यक्ति या समूहको बारेमा सूचना दिनेलाई गाउँपालिकाले ५० हजार पुरस्कार दिने व्यवस्था गरेको हो ।
यसअघि यही पुरस्कारबारे जानकारी दिँदै हेलम्बु सरकारले सूचनानै जारी गरेको थियो । जसमा हेलम्बुबासीसहित सबैमा वनमा डढेलो लगाउने कुनै क्रियाकलाप नगर्न आग्रह गरिँदै वन ऐन २०७६ दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।
