चितवन — चैते दसैंका बेलामा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक लाग्ने विक्रम बाबाको पूजा भोलि शनिबारदेखि सुरु हुने भएको छ । चैत ३० मा पूजा समापन हुने छ । चैते दसैंका बेला औंसीमा सुरु भएर पूर्णिमासम्म विक्रम बाबाको पूजा हुँदै आएको छ । परम्परागत रुपमा शदियौंदेखि चितवनका आदिवासी थारु समुदायले पूजा गर्दै आएको विक्रम बाबामा पछिल्ला वर्षहरुमा हिन्दु धर्म मान्नेको पनि आकर्षण बढ्दै गएको छ ।
चितवन निकुञ्जको जंगलभित्रै विक्रम बाबाको पूजा हुने गरेको छ । त्यहाँ कुनै मन्दिर छैन । ठूलो सालको रुखको आडमा बनेको थानमा बाबाको पूजा गर्ने परिपाटी छ । सप्तमीदेखि नवमी दशमीसम्म पूजा गर्न आउनेको घुइँचो लाग्छ । अन्य दिन पनि ठाउँ ठाउँबाट विक्रम बाबाका पूजा गर्न आउने भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले बताए । गत वर्ष १५ दिनसम्म साढे ६ लाखले पूजा गरेको उनले बताए ।
यस वर्ष यो संख्या अझै बढ्ने सम्भावना रहेको वडाध्यक्ष दवाडी बताउँछन् । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरी विक्रम बाबामा थारु समुदायले पुस्तौं पुस्तादेखि पूजा गर्दै आएको बताए । थारुहरुले मान्ने ठूलो शक्तिमध्येको एक विक्रम बाबा रहेको उनको भनाइ छ । चितवन निकुञ्ज घोषणा भएपछि केही कम हुँदै गएको पूजा गर्ने चलन पछिल्ला वर्षहरुमा हृवात्तै बढेको उनले सुनाए ।
चितवन राष्ट्रिय निकुञ्जको पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष रहेका शंकर महतो पहिला पहिला थारुहरु मात्रै विक्रम बाबामा पूजा गर्न आउने, सन्तान होस् भनेर भाकल गर्ने र भाकल पुरा भए कुखुराको भाले या बोकाको बली दिने गरेको बताउँछन् । विक्रम बाबाको पूजाको व्यवस्थापन पहिटानी र कसरा नजिक जगतपुरको घैलाघारी मध्यवर्ती उपभोक्ता समितिले गर्दै आएका छन् ।
शंकर महतोले सानैदेखि विक्रम बाबाको पूजा देख्दै आएका हुन् । ‘सुरुदेखि नै चैते दशैंका बेलामा विक्रम बाबाको पूजा हुने गरेको हो । पहिला चैते दशैंमा विक्रम बाबामा भन्दा माडी गोद्धकमा ठूलो मेला लाग्थ्यो । सानैमा हामी बाबाहरुसँग गोद्धक जान्थ्यौं । त्यहाँ कुटो, कोदालो, भाँडा बर्तन पनि किन्न पाइन्थ्यो । विक्रमबाबामा सन्तान नहुनेहरु सन्तान माग्न पुग्थे । त्यस्तो भीड हुँदैन थियो,’ ६९ वर्षीय शंकर महतोले भने ।
चितवन निकुञ्जको सीमाभित्र हुने पूजास्थलमा सुरक्षाका लागि नेपाली सेनाले पनि समन्वय गरेको वडाध्यक्ष दिपक दवाडीले बताए । जगतपुर घैलाघारीमा पूजा अवधिभर मेला लाग्दछ । त्यहाँको सुरक्षा प्रबन्ध प्रहरी, नगर प्रहरीले गर्ने छ । पूजास्थल निकुञ्जभित्र रहेका कारणले प्लास्टिकहरु लैजान बन्देज लगाएको वडाध्यक्ष दवाडीको भनाइ छ । नेपालभरिबाट मात्रै नभएर सीमावर्ती क्षेत्रका भारतीयहरु पनि विक्रम बाबामा आउने उनले बताए ।
थारु कल्याणकारिणी सभाका चितवन सभापति ललित चौधरी थारुहरुले पूजा गर्दा गुरौंलाई लिएर जाने, पुजामा निश्चित विधिहरु पूरा गर्ने परिपाटी रहेको बताउँछन् । अचेल हरेक ठाउँबाट पूजा गर्न आउनेको संख्या बढ्दा गुरौंको तौरतरिकाले नभएर पूजा गर्न आउनेहरुले आफ्नै शैलीमा पूजा गर्न थालेका छन् । त्यसैले यो वर्षदेखि पूजास्थलमा थारु गुरौंको व्यवस्था गरेको सभापति चौधरीले बताए ।
