मकवानपुर — नेपालमा ८५ प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक ग्रामीण क्षेत्रमा बस्ने गरेको पाइएको छ ।
आइतबार राष्ट्रिय समावेशी आयोगले हेटौंडामा आयोजना गरेको वृद्धाश्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आधार र मापदण्ड विषयक छलफल कार्यक्रममा यस्तो तथ्य सार्वजनिक भएको हो ।
ग्रामीण क्षेत्रमा बस्ने अधिकांश ज्येष्ठ नागरिकहरु कृषि पेसामा आवद्ध रहेको र अवसरबाट वञ्चित हुन पुगेको आयोगका सचिव बलराम निरौलाले जानकारी दिए । अशिक्षा र कमजोर खानपानको कारण ज्येष्ठ नागरिकहरुमा पोषणको समस्या समेत देखिने गरेको उनले बताए । आयोगका अनुसार ६५ वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकहरुमध्ये ४७ प्रतिशत ज्येष्ठ नागरिकहरु अझै आर्थिक रुपमा सक्रिय रहेका छन् ।
८० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिकहरु छोरासँग बस्ने गरेको र छोरीसँग बस्ने ज्येष्ठ नागरिकहरुको अनुपात २ दशमलव ७ प्रतिशत रहेको आयोगका सचिव निरौलाले बताए । २०७८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्याको वार्षिक वृद्धिदर ० दशमलव ९२ प्रतिशत रहँदा ज्येष्ठ नागरिकहरुको वार्षिक वृद्धिदर भने ३ दशमलव २९ प्रतिशत रहेको आयोगले जनाएको छ । २०५८ सालको जनगणना अनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या कुल जनसंख्याको ६ दशमलव ५ प्रतिशत अर्थात् १५ लाख, २०६८ मा ८ दशमलव १३ प्रतिशत अर्थात् २१ लाख ५४ हजार र २०७८ मा १० दशमलव २१ प्रतिशत अर्थात् २९ लाख ७० हजार रहेको छ ।
ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएमा पालन पोषणको कर्तव्य भएको व्यक्तिको आम्दानीबाट मासिक रुपमा सम्वन्धित ज्येष्ठ नागरकको खातामा रकम जम्मा गर्न लगाउने, उजुरी लिने, मेलमिलाप गराउनुपर्ने जस्ता कार्य गर्न स्थानीय तहलाई आयोगले आग्रह गरेको छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप क्षमता र अनुभवको उपयोग गर्ने खालको नीति ल्याउन आयोगले सरकारलाई सिफारिस गरेको छ । ज्येष्ठ नागरिक मैत्री पूर्वाधार र सुविधा विस्तार गरी स्वास्थ्य सेवा र सार्वजनिक यातायातमा सुविधाको प्रबन्ध गर्न समेत सिफारिस गरिएको सचिव निरौलाले बताए ।
