जाे बढी भ्रष्ट छ, ऊ ऊर्जामन्त्री भएकाे छ : दाहाल

चैत्र ९, २०८१

रमेशकुमार पौडेल

Jae is more corrupt, he has become Energy Minister: Dahal

चितवन — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा देश जानुपर्ने बताएका छन् ।

यसरी निर्वाचित हुने राष्ट्रपतिले नै सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर मन्त्रीमण्डल बनाउने उनकाे भनाइ थियाे । 'तब मात्र विश्वविद्यालयका विज्ञ, जानकारहरूले सम्बन्धित मन्त्रालयकाे जिम्मेवारी पाउँछन् । अहिले भएकाे के छ भन्दा, जाे बढी भ्रष्ट छ- ऊ ऊर्जामन्त्री भएकाे छ । अनि काम गर्नेलाई काेपरेकाे छ,' दाहालले भने ।

पार्टीले आयाेजना गरेकाे हुलाकी मार्गकेन्द्रित मेची-महाकाली तराई-मधेस जागरण अभियान अन्तर्गत शनिबार चितवन जगतपुरकाे कसरा चाेकमा आयाेजित सभामा उनले कराेडाैं खर्च गरेर सांसद बन्ने र ती सांसद नै मन्त्री बन्ने प्रणाालीले भ्रष्टाचारकाे राेग फैलिएकाे बताए ।

वडाध्यक्ष जित्न दुई-तीन कराेड, पालिका जित्न पाँच-सात कराेड, प्रदेश सदस्य जित्न आठ-१० कराेड र संघीय संसद जित्न पनि कराेडाैं खर्च गर्नुपर्ने निर्वाचन प्रणाली जनमुखी नभएकाे दाहालको भनाइ थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली  आवश्यक भएकाे भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नहुँदासम्म देशले स्थायित्व नपाउने बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully