भरतपुरमा चैत १४ देखि औद्योगिक प्रदर्शनी

चैत्र ८, २०८१

रमेशकुमार पौडेल

Industrial exhibition at Bharatpur from Chait 14

चितवन — भरतपुरमा चैत १४ गतेदेखि १८ गतेसम्म नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

दुरसञ्चार रोडको चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा हुने प्रदर्शनीका आयोजना चितवन उद्योग संघले गरेको हो । प्रदर्शनीमा दुई सय स्टल रहने संघले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संघका उपाध्यक्ष एवं प्रदर्शनी तथा व्यवसाय प्रवर्द्धन विभागका प्रमुख दिनुपकुमार बरालले प्रदर्शनीमा विदेशका १० वटा स्टल रहने पत्रकार सम्मेलनमा बताए । 'यो बाहेक पनि सूचना प्रविधि सम्बन्धी विदेशी कम्पनीका नेपाली प्रतिनिधिहरका स्टलहरू पनि रहने छन्,' संयोजक बरालले भने । संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेले निर्यात योग्य नेपाली उद्योगका स्टलहरू पनि रहने बताए । 

त्यसैगरी चैत्र १४ गतेदेखि वैशाख नौ गतेसम्म एक्स्पो सेन्टरमै स्वदेशी जुत्ता चप्पल मेला पनि हुन गइरहेको छ । जसमा करिब १५ हजार जोर जुत्ता चप्पल बिक्री हुने अपेक्षा रहेको संयोजक बरालले बताए  

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully