हेटौंडा — क्षेत्रीय कारागार भीमफेदी र बाल सुधारगृहमा रहेका ८ जना कैदीबन्दीले एसईई परीक्षा दिइरहेका छन् ।
भीमफेदी कारागारबाट ६ जना कैदीबन्दी र हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बाल सुधारगृहबाट २ जना परीक्षामा सहभागी छन् ।
एसईई परीक्षामा भीमफेदी कारागारमा सवारी ज्यान, जबरजस्तीकरणी, डाँका, चोरी र लागुऔषध मुद्दामा जेलजीवन बिताइरहेका ३ जना बन्दी र ३ जना कैदीले एसईई परीक्षा दिइरहेको जेलर तिर्थराज पौडेलले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसईई फाराम भरेका कैदीबन्दीहरुलाई जेल भित्रबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । ‘शिद्धार्थ माविका शिक्षकले नै उत्तर पुस्तिका र प्रश्नपत्र लिएर आएका छन् र उनीहरुले नै नै परीक्षा लिएका छन्,’ पौडेलले भने ।
यसैगरी बाल सुधारगृहमा रहेका २ जना बन्दीहरुले पनि बालसुधार गृहबाटै परीक्षा दिइरहेका छन् । उनीहरुले पनि सिद्धार्थ माविबाट फाराम भरेका थिए । शिद्धार्थकै शिक्षक गएर परीक्षा लिइरहेका छन । कानुनको बिज्याइँ गरेका १८ वर्षमुनिका बालबालिकालाई सुधार गृहमा राख्ने गरिन्छ । एसईई परीक्षामा मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी छन् ।
