गोरखनाथ सामुदायिक वनको डढेलो चिसापानीसम्म फैलिँदै

चैत्र ५, २०८१

ज्योती श्रेष्ठ

Gorakhnath community forest fire spreading up to Chisapani

काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार राति ११ बजेदेखि लागेको डढेलो फैलिँदै चिसापानी सामुदायिक वनसम्म पुगेको बेथानचोक–३ का वडा अध्यक्ष कुबेर ढकालले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय, वन उपभोक्त समितिलाई घटनाको बारेमा जानकारी गराइएको छ ।

सोमबार नेपाली सेनी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आएर हुर्का भञ्ज्याङको मानव बस्तीलाई डढेलोबाट जोगाउनको लागि एन्टिफायरिङ गराएर फर्किएको उनले बताए । एन्टी फायरिङ गरिएपनि बस्ती पूर्णरुपमा सुरक्षित नरहेको उनको भनाइ छ । हावाहुरी व्यापक रुपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन ।

‘हावाहुरी अत्याधिक रुपमा चलिरहेको छ, वनमा डढेलो नियन्त्रण गर्न सकिएको छैन,’ वडा अध्यक्ष ढकालले भने, ‘एन्टी फायरिङ गरिएपछि यहाँको बस्ती भने जोगिएको छ ।’ उनका अनुसार अहिलेका लागि स्थानीयलाई सचेत रहन र सर्तकर्ता अपनाएर बस्न आग्रह गरिएको छ । ढुक्कका साथ बस्न सक्ने अवस्था नरहेको उनले बताए । यो ठाउँमा निकै सुख्खा र पानीको अभाव रहेकाले आगो निभाउन निकै कठिन भएको उनको भनाइ छ । 

Gorakhnath community forest fire spreading up to Chisapani

करिब १ सय ९३ हेक्टर क्षेत्रफल रहेको गोरखानाथ सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको अनुमान गरिएको वडा अध्यक्ष ढकालले बताए । बोल्देबाट फैलिएको डढेलो अहिले हर्कभञ्ज्याङसम्म आइपुगेको छ । हावाहुरी चलेकाले डढेलो फैलिदैं थलीडाँडा, च्याल्टी, नारायाण स्थानसम्म पुग्ने जोखिम रहेको उनले बताए । डढेलो फैलिँदै चिसापानी सामुदायिक वनसम्म पुगेको उनले जानकारी दिए ।

बेथानचोक गाउँपालिका वडा नं ३ र ५ को सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको उनले बताए । स्थानीय कमल नेपालका अनुसार बेथानचोकमा लागेको आगोले बस्तीमा समेत धुवाँले भरिएको छ । श्वास फेर्न र आँखा चिलाउने समस्या देखिएको उनले बताए । 

Gorakhnath community forest fire spreading up to Chisapani

गत माघ महिनाको पहिलो सातामा पनि बेथानचोक गाउँपालिकाका ३ वटा सामुदायिक वनमा डढेलो लागेको थियो । डढेलो नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरको प्रयोग गरी मानव बस्तीलाई जोगाइएको थियो । त्यस समयमा ३ वटा सामुदायिक वनमा लागेको डढेलो करिब ६ दिनपछि मात्रै पूर्णरुपमा नियन्त्रणमा ल्याइएको थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully