घरगोठका छाना उडाएकालाई थाहा नगरले ३० हजारसम्म राहत दिने

चैत्र १, २०८१

प्रताप विष्ट

Thana Nagar will give relief of up to 30,000 to those whose roofs have been blown off

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकाले हावाहुरीले घर र गोठको छाना उडाएकाहरुलाई पुनः छाना लगाउनका लागि बढीमा प्रतिघर ३० हजार रुपैयाँ राहतस्वरुप रकम उपलब्ध गराउने भएको छ । थाहा नगर विपद व्यवस्थापन समितिको शुक्रबारको बैठकले तत्कालैका लागि पीडितहरुलाई त्रिपाल उपलब्ध गराएको छ ।

निजी भवनतर्फका प्राविधिक शाखाका प्राविधिकहरु घर/घरमा पुगेर स्टमेट गरेको आधारमा बढीमा प्रतिघर ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताए । 'आइतबारसम्म प्राविधिक टोलीले प्रतिवेदन विपद व्यवस्थापन समितिलाई पेस गर्ने छन् । त्यसपछि लगत्तै विपद व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने छ,' मेयरले भने । 

पशु र कृषि शाखाका प्राविधिकहरुले पनि स्थलगत अध्ययन गरेर आइतबारभित्र समितिमा प्रतिवेदन पेस गर्न विपद व्यवस्थापन समितिले निर्णय गरेको थाहा नगरपालिका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । हावाहुरीले विद्युत्‌का पोलहरु ढालेको छ । 

थाहामा बिहीबार बेलुका हावाहुरी चल्दा तीन वटा वडाका ९९ वटा घरगोठका छाना उडाउनुका साथै दर्जनौं तरकारीका प्लास्टिकका टनेलहरुलाई क्षति पुर्‍याएको छ । हावाहुरीले थाहा—३ मा ५१ वटा घर र ७ वटा गोठका छानाहरु उडाएको छ  । ४ नम्बर वडाको २५ वटा घर र ६ वटा गोठका छानाहरु बिहीबार आएको हुरी बतासले उडाएको छ । ५ नम्बर वडाको १० घरको छाना हावाहुरीले उडाएको थाहा नगरपालिकाले जनाएको छ । 

'थाहा नगरपालिका—३ मा निर्माणाधीन शितभण्डारको छाना पनि उडाएको छ,' स्थानीयवासी सुदर्शन विष्टले भने । थाहाले तत्कालका लागि हावाहुरीले छाना उडाएका घरधनीहरुलाई त्रिपाल पनि राहत स्वरुप उपलब्ध गराएको छ । 'हावाहुरीले तरकारीका टनेलहरुलाई क्षति पुर्‍याएको छ, त्यसको एकिन विवरण आइपुगेको छैन,' सूचना अधिकारी भुजेलले  भने, ‘टोली क्षतिग्रस्त क्षेत्रमा पुगेपछि त्यसको एकिन विवरण आउने छ ।’

Thana Nagar will give relief of up to 30,000 to those whose roofs have been blown off

बिहीबार बेलुका साढे ६ बजेतिर पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर माथि क्षेत्रका अधिकांश जस्तापाताको छाना भएका घरहरुको छाना उडाएको छ । थाहा—३ र ४ नम्बर वडाको अधिकांश  बस्तीमा बिहीबार बेलुकादेखि विद्युत् अवरुद्ध छ । ‘हावाहुरीले घरको छानामात्र उडाएन तरकारी खेती गरिरहेको प्लास्टिकको टनेल पनि उडायो ।’ 

वुधवार आएको हुरी वतासले थाहा नगरपालिका—६ वज्रवराहीमा पनि घरको छानाहरु उडाउनुको साथै तरकारी खेतीमा क्षति पुर्‍याएको थियो । 

प्रताप

Link copied successfully