बाढीले क्षतिग्रस्त बनाएको सडकलाई खोलाबाट बचाउन पर्खाल लगाइँदै

फाल्गुन २९, २०८१

प्रताप विष्ट

A wall is being built to protect the road damaged by the flood from the river

हेटौंडा — हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो वैकल्पिक मार्गको हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्डको कुलेखानी कलंकी-हुमाने सडकलाई फराकिलो र नाली बनाउनुको साथै खोलाबाट सडकलाई सुरक्षित राख्न पर्खाल (वाल) बनाउने कार्य तीव्र गतिले भइरहेको छ।

सडकको ग्रेडिङ मिलाएर कुलेखानीको कलंकीदेखि हुमानेसम्म कालोपत्रे पनि गर्ने तयारी गरिएको छ। फाखेलदेखि हुमानेसम्म कालोपत्रे गर्नका लागि सडकको बेसलाइन मिलाउने काम भइसकेको छ।

‘अब छिटै नै फाखेलदेखि हुमानेसम्म कालोपत्रेको काम सुरु हुन्छ’ पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीले भने, ‘महालक्ष्मी पुलदेखि कुलेखानीको कलंकीसम्मका विभिन्न भागमा खोलाबाट सडकलाई सुरक्षित राख्न पर्खाल लगाउने कार्य भइरहेको छ, कतै भित्ता कटिङ पनि गरिरहेका छौं, नाली बनाउने र ढलान गर्ने कार्य पनि भइरहेको छ।’

गत असोजमा आएको बाढीपहिरोले महालक्ष्मीको पुल मात्र क्षतिग्रस्त बनाएन करिब आधा किलोमिटर सडक नै बगायो। महालक्ष्मी खोला सडकबाट हिँडिरहेको थियो। अहिले त्यही क्षेत्रमा खोलाबाट सडकलाई सुरक्षित राख्न पर्खाल लगाउने काम भइरहेको छ।

गत असोज ११ र १२ गते आएको बाढीले उक्त क्षेत्रको सडकलाई क्षति नपुर्‍याएको भए कालोपत्रे गर्ने तयारी अन्तिम अवस्थामा पुगिसक्थ्यो। पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख भण्डारीले भने, ‘बाढीपहिरोले गर्दा अलि ढिला भयो।’

कुलेखानीको कलंकीदेखि हुमानेसम्मको सडक खण्ड साढे १२ किलोमिटर रहेको छ। उक्त साढे १२ किलोमिटर सडकलाई दुई लेनको बनाउने र कालोपत्रे गर्ने कार्यको ठेक्का टीआर इन्फास्ट्रक्चर प्रालिले ४० करोड ७२ लाख रुपैयाँमा लिएको छ। बागमती प्रदेश सरकार मातहत रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरमार्फत सडकको निर्माण कार्य अगाडि बढिरहेको छ।

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं आउजाउ गर्ने छोटो दूरीको मुख्य सडक हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-हुमाने हुँदै फर्पिङ पुगिने उक्त सडकको निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ।

२०८० वैशाख १७ गते उक्त सडकको निर्माण कार्यको सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८२ वैशाख १६ गतेसम्म उक्त सडकको निर्माण कार्य सम्पन्न गरेर कालोपत्रेसम्म गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

असोजमा आएको बाढीपहिरोको कारण महालक्ष्मी खोला क्षेत्रको करिब आधा किलोमिटर सडक खोलाले बगाएकाले तोकिएको समयमा काम सकिँदैन कि भन्ने आशंका छ। पूर्वाधार विकास कार्यालय मकवानपुरका एक प्राविधिकले भने, ‘तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिइरहेका छौं।’

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौं आउजाउ गर्ने सडक अहिले एकतर्फी मात्र सञ्चालनमा छ। उक्त सडकको कुलेखानी कलंकी-हुमाने खण्डको निर्माण कार्य भइरहेकोले सडक एकतर्फी मात्र सञ्चालनमा आएको हो।

करिब ७ महिनाअघि आएको बाढीपहिरोले हेटौंडा-काठमाडौं आउजाउ गर्ने छोटो मार्ग हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डको कुलेखानी-सिस्नेरी खण्डको करिब साढे एक किलोमिटर सडक क्षतविक्षत बनाएको छ।

अहिले राजधानी-हेटौंडा आउजाउ गर्ने सवारीसाधनहरू सिस्नेरी खोलाको बगरैबगर कुद्ने गर्छन्। उक्त क्षेत्रको सडकको पुनर्निर्माण गर्न प्रदेश सरकारले टेन्डर आह्वान गरिसकेको छ।

प्रताप विष्ट

Link copied successfully