हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकाले आफ्ना पालिकामा एसईई दिने परीक्षार्थीका लागि परीक्षा केन्द्रमा खाना र बासको व्यवस्था गर्ने भएको छ ।
परीक्षा अवधिभर विद्यार्थीलाई खाना र बासको लागि समस्या नहोस् भनेर गाउँपालिकाको खर्चमा उक्त व्यवस्था गरिने भएको हो । यस वर्ष गाउँपालिकाका पाँच वटा विद्यालयबाट १४९ जनाले परीक्षा फारम भरेका छन् । यस्तै ६७ जनाले ग्रेड वृद्धिका लागि फारम भरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ९, नामटारस्थित कालिका माविमा पाँचवटा विद्यालयको केन्द्र कायम रहेको थियो । कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–६ स्थित व्यास मावि, कैलाश–८ स्थित धुवाङ मावि र कैलाश–१० स्थित रत्नज्योति माविबाट एसईईमा सहभागी हुने विद्यार्थीका लागि कैलाश–९ स्थित कालिका माविमा परीक्षा केन्द्र तय गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लकाअनुसार विद्यार्थीको सहजताका लागि पालिकाले खाना र आवासको व्यवस्थापन गर्न लागेको हो । ‘परीक्षा केन्द्र वरिपरी लजको व्यवस्था छैन,’ उपाध्यक्ष मल्लले भने, ‘पालिकाबाटै ओढ्ने र ओछयाउनेको व्यवस्था गर्छौं र केन्द्र वरिपरी रहेका होटलहरुलाई भात पकाएर खान दिने व्यवस्था मिलाउछौं ।’
कैलाशको कालिका माविका विद्यार्थी भने हेटौंडा–४ स्थित भुटनदेवी माविमा परीक्षा दिन आउनेछन् । आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था नभएका कारण कालिका माविका विद्यार्थी जिल्ला सदरमुकाम नै आउन बाध्य भएका हुन् ।
यस वर्ष मकवानपुरमा १० वटै पालिकामा एसईईको परीक्षा केन्द्र रहने भएको छ । गत वर्ष ९ वटा पालिकामा मात्र थियो । कैलाश गाउँपालिकामा यसपटकदेखि परीक्षा केन्द्र तोकिएको हो । आगामी चैत आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार केन्द्र निर्धारण गरिएको विवरण सार्वजनिक गरेको छ ।
इकाईका अनुसार गत माघ २५ गते बसेको माध्यमिक शिक्षा परीक्षा समन्वय समिति मकवानपुरको बैठकले परीक्षा केन्द्र निर्धारण गर्ने निर्णय गरेको थियो । एउटा प्राविधिक विषयको केन्द्र र कैलाश गाउँपालिकामा एउटा केन्द्र थप भएसँगै मकवानपुर जिल्लामा यस वर्षदेखि एसईईको केन्द्र २८ वटा पुगेको छ ।
यस वर्ष मकवानपुर जिल्लाबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी हुँदैछन् । एसईईका लागि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले उत्तरपुस्तिका परीक्षा केन्द्रमा पठाउने कार्य सुरु गरिसकेको छ ।
