स्ववियु निर्वाचन : काभ्रेका १५ क्याम्पसको सभापतिका लागि ५ संगठनबीच सहमति

फाल्गुन २६, २०८१

ज्योती श्रेष्ठ

Swaviyu Elections: Agreement between 5 organizations for president of 15 campuses of Kavre

काभ्रे — आउँदो स्ववियु निर्वाचनका लागि काभ्रेका १५ क्याम्पसको सभापतिका लागि ५ संगठनबीच सहमति भएको छ । सोमबार बसेको नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू र अखिल समाजवादी गरी ५ संगठनको संयुक्त बैठकले १५ क्याम्पसको सभापतिका लागि सहमति भएको हो । 

सहमतिअनुसार, काभ्रेको इन्द्रेश्वर क्याम्पस, प्रकाश क्याम्पस, कानपुर क्याम्पस, चैतन्य क्याम्पस, पार्वती क्याम्पस, मंगल जनबिजय क्याम्पसको सभापतिमा नेविसंघ रहनेछ । तेजगंगा क्याम्पस, जनक क्याम्पस, सर्वमंगला क्याम्पस, डेडीथुम्का क्याम्पस, धुलिखेल क्याम्पस र कुशादेवि क्याम्पसको सभापतिमा अनेरास्ववियु रहनेछ । 

त्यस्तै, सञ्जिवनी क्याम्पस, प्रभा क्याम्पस र दाप्चा कृष्ण क्याम्पसको सभापतिमा अनेरास्ववियु क्रान्तिकारी रहने सहमति भएको छ ।  अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ ।

यस्तै, अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा २ सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ । अन्य पदहरूमा भने प्रक्रियाअनुसार अघि बढ्ने सहमति गरिएको छ । यस्तै, काभ्रे क्याम्पसमा भने प्रतिस्पर्धा प्रक्रियामा निर्वाचन हुने तयारी गरिएको जनाइएको छ । 

Swaviyu Elections: Agreement between 5 organizations for president of 15 campuses of Kavre

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully