खुट्टाले लेखेर अक्षर चिन्दैछिन् निमा

फाल्गुन २६, २०८१

अनिश तिवारी

Nima is recognizing letters by writing with her feet

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका-७ ज्यामलिङ गाउँकी ११ वर्षीया निमा साङ्गमु लामाका हात चल्दैनन्, बोल्न सक्दिनन् । आफ्नै खुट्टाले राम्रोसँग उभिन पनि नसक्ने उनी थरथर काम्छिन् । तर उभिँदा राम्रोसँग काम नगर्ने उनका खुट्टाले उनी अक्षर लेख्न र चित्र कोर्न भने सहजै सक्छिन् ।

गाउँको बालकल्याण आधारभूत विद्यालयमा भर्ना भएकी उनी आजभोलि कक्षामा बसेर पढिरहेकी छन्, खुट्टाले लेखेर अक्षर चिन्दैछिन्।

खुट्टाले अक्षर खुट्याएर लेख्नेमात्रै होइन, आकर्षक चित्र कोरेर समेत उनले साथीभाई र गुरुहरूलाई चकित पार्छिन् । शारीरिकरुपमा अशक्तता भएपनि उनको अध्ययन र चित्रमा लगनशिलता देखेर शिक्षक र अभिभावकहरू चकित छन् ।

निमा एक वर्षकी हुँदा घर नजिकै लडेर घाइते भएकी थिइन् । 'लडेर घाइते भएपछि बेलैमा उपचार गराउन सकिएन, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गराएँ । तर घाउ निको भएपनि हात चलेन,' निमाका बुवा दावा लामाले भने।

परिवारको आर्थिक अवस्था राम्रो छैन । जसको प्रभाव निमाको हेरचाह र उपचारमा परेको छ । बाह्रबिसे नगरपालिकाका कार्यपालिका सदस्य निमाराज शेर्पाले परिवारले आर्थिक अभावकै कारण निमाको राम्रो उपचार र पढाइको प्रबन्ध गर्न नसकेको बताए । 'उहाँको परिवारलाई दुई छाक जोहो गर्नै कठिन छ । अनि नानीको उपचार कसरी गर्नू र?,' लामाले भने, 'त्यसको प्रत्यक्ष असर सिंगो परिवारमा परेको छ।'

निमाका बुवा ३८ वर्षीय दावा आफैँ मानसिकरुपमा अस्वस्थ छन्। निमाको पढाइ र उपचारको लागि परिवारले हारगुहार समेत गर्न नसकेको कार्यपालिका सदस्य लामाले बताए ।

Nima is recognizing letters by writing with her feet

बिहीबार शैक्षिक सामाग्री लिएर उक्त विद्यालयमा पुगेको शेर्पा ब्रदर्स ग्रुप र बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतसहितको टोलीले समेत निमाको अवस्थाका विषयमा जानकारी लिए । 

निमाको अद्‌भूत क्षमताबाट प्रभावित पनि भए । मेयर बस्नेतले नगद ७ हजार रुपैयाँ सहयोग गरेर अब नानीहरूको पढाइ लेखाइ नगरपालिकाले जिम्मा लिने बताए ।

'मैले व्यक्तिगतरुपमा नानीको उपचार र पढाइमा सहयोग पुगोस् भनेर अहिले ७ हजार रुपैयाँ सहयोग गरेको छु । हामीले यसका लागि अन्यत्र पनि पहल गर्नुपर्छ,' मेयर बस्नेतले भने, 'उनलाई पढ्नका लागि समेत अपाङ्गमैत्री विद्यालयमा पठाउनुपर्ने आवश्यकता हुन्छ । त्यसका लागि समेत मेरोतर्फबाट पहल हुनेछ।'

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully