बेथानचोकका सडक पुनर्निर्माण सुरु

फाल्गुन २६, २०८१

ज्योती श्रेष्ठ

Bethanchowk road reconstruction started

काभ्रे — असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुर्‍याएको काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न सडकखण्डको पुनर्निर्माण सुरु गरिएको छ । सोमबार एक कार्यक्रमबीच सल्लाफेद-पार्थली-गेल्ढुङ्ग सडकखण्डको पुनर्निर्माण सुरु गरिएको हो । 

बेथानचोक गाउँपालिकाको विशेष सभाले अन्य शीषर्कमा विनियोजन गरेको रकम कटौती गर्दै तत्कालका लागि मुख्य सडक निर्माण सुरु गरिएको अध्यक्ष भगवान अधिकारीले बताए ।  उनका अनुसार गाउँपालिकाले तीन वटा वडा सडकका लागि विनियोजन गरेको १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

Bethanchowk road reconstruction startedसल्लाफेद-पार्थली-गेल्ढुङ्ग सडकखण्डका लागि ५ करोड, भन्ज्याङ-गोलगाउँ-भुग्देउ-मेदान्सुअन्तर्गत तिप्चोक-पार्थली सडकखण्ड साढे २ करोड र दाहालभन्ज्याङ हुँदै कामीडाँडाखण्डका लागि साढे २ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए । तीनवटै सडक निर्माण व्यवसायीसँग सम्झौता गरिएको छ ।

‘वर्षा सुरु हुनुअघि नै पालिका जोड्ने सडकको मर्मत तथा पुनर्निर्माणको काम सक्ने लक्ष्यका साथ काम सुरु गरिएको छ,’ उनले भने । संघ र प्रदेश सरकारको सहयोगमा बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कबाट सल्लाफेदसम्मको सडकखण्ड पुनर्निनिर्माण गरिनेछ । सल्लाफेद-पार्थली-गेल्डुङ सडकबाहेक अन्य दुईवटा सडकका लागि प्रदेशको समपूरक बजेट समावेश गरिएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully