हेटौंडा — हेटौंडा उपमहानगरपालिका—१ राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको आइतबार मृत्यु भएको छ । हेटौंडा—५ का १७ वर्षीय प्रियन्सु आचार्यको राप्ती खोलास्थित कोरे ढुंगा नजिक दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आचार्यसहित तीन जना पौडी खेल्न गएका थिए । सुरुमा नै आचार्य खोलामा हाम फालेका थिए ।
उनी खोलाबाट बाहिर ननिस्केपछि सँगै गएका साथीहरुले स्थानीयवासी र प्रहरीलाई खबर गरेका थिए । चौकीटोलको प्रहरी टोली पुगेर उनलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको थियो । चिकित्सकले आचार्यको मृत्यु भएको घोषणा गरेका थिए ।
