हेटौंडा — मकवानपुरको राक्सिराङ गाउँपालिकाले सत्यसाई केन्द्रको सहयोगमा नारी दिवसको अवसरमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
राक्सिराङ गाउँपालिका—३ सरिखेतमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा ६ सय ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । सरिखेतस्थित सुर्योदय माविको प्रांगणमा सञ्चालित शिविरमा मुटु रोग,स्त्री रोग, छाला र दन्तरोगमा विशेषज्ञ चिकित्सकहरु थिए । शिविरमा भिडियो एक्सरे पनि गरिएको थियो ।
अधिकांश महिलाहरु सहभागी रहेको उक्त शिविरमा केही जटिल रोगका बिरामीहरु फेला परेका थिए । त्यस्ता बिरामीहरुको तत्कालै उपचार गर्नु पर्ने भएकाले पालिकाले सत्यसाई केन्द्रलाई उपचारका लागि सहयोग गर्न आग्रह गरेको वडाध्यक्ष उत्तम वाईवाले बताए ।
शिविरमा नि:शुल्क औषधी पनि उपलब्ध गराइएको थियो । शिविरमा ३ घन्टासम्म हिँडेर पनि स्वास्थ्य परीक्षण गराउन आएका थिए । शिविरमा ३ वर्षदेखि ८३ वर्षसम्म उमेरकाले स्वास्थ्य परीक्षण गराएका थिए ।
