फिक्कलमा दशकपछि पालबाट पक्कीमा प्रहरी

फाल्गुन २०, २०८१

राजकुमार कार्कीर्

After a decade in Fikkal, the police from tent to concrete

सिन्धुली — भौतिक संरचनाको अभावमा दुःख झेलिरहेको सिन्धुलीको फिक्कल गाउँपालिका-४ मा रहेको प्रहरीचौकी  दशकपछि पालबाट पक्की भवनमा सरेको छ ।

जनताको सेवामा रातदिन नभनी खट्नुपर्ने प्रहरीको आफ्नै भने कन्तबिजोग थियो । सिन्धुलीको फिक्कल-४ खाङसाङमा स्थापना भएको एक दशकपछि चौकी पक्की भवनमा मंगलबार सरेको हो ।

भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द लामिछानेले उद्घाटन गरेका छन् । सरकारको २ करोड ४६ लाख लागतमा निर्माण सम्पन्न भवन साढे दुईतले छ । प्रदेश सरकारले यसअघि ६६ वटा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरी हस्तातरण गरिसकेको मन्त्री लामिछानेले जानकारी दिए ।

२०७२ को भूकम्पपछि प्राप्त पालमा पानी चुहिएकाले बस्न नमिल्ने भएको थियो । कार्यालय रहेको जीर्ण भवनमा खाट राख्ने ठाउँसमेत नहुँदा भुइँमा नै कोचिएर बस्नुपर्ने बाध्यता थियो ।जस्ताको छानो र बाँसको टाटीले बेरेको भवन भएकाले जाडोमा शीत चुहिने र गर्मी महिनामा तातेर बस्नै नसकिने प्रहरीहरुको गुनासो थियो ।

२०७१ सालमा स्थापना भएको अस्थायी प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकसहित ५ जना कार्यरत थिए ।यहाँ १५ जनाको दरबन्दी रहे पनि सइको नेतृत्वमा हाल ८ जना मात्र कार्यरत छन् ।

राजकुमार

Link copied successfully