‘ध्रुवे’ले भत्काइरहन्छ बुधनीको घर

गत वर्ष जेनतेन उनले भत्केको घरको मर्मत गरिन् । हात्तीले दोहोर्‍याएर आक्रमण गरेपछि अहिले घरको नाममा ठिंग उभिएका एकाध खाँबा र ढोका मात्रै बाँकी छन्

फाल्गुन १९, २०८१

रमेशकुमार पौडेल

'Dhruvey' keeps destroying Budhni's house

चितवन — माडी नगरपालिका–१ पाण्डवनगरकी बुधनी बोटे गत पुस ८ गते राति निन्द्रामा थिइन् । निन्द्रामै उनलाई केहीले च्यापेजस्तो लाग्यो । गाउँमा हल्ला खल्ला पनि सुनियो । राम्ररी ब्युझेकी पनि थिइनन्, कसैले उनलाई तानेर बाहिर निकाल्यो । घर पूरै भत्केको थियो । जंगली हात्ती गाउँ पसेर उनको घरलाई निशाना बनाएको रहेछ । घरमा नवलपरासीबाट छोरीले कोसेली पठाइदिएको एक बोरा चामल हात्तीले तानेर केही खाएछ, केही पोखेछ । नुनका पोका फुटाएर छिरोलेछ ।

‘हात्तीले धन्न मलाई केही गरेन,’ बुधनीले सुस्केरा हाल्दै भनिन् । घर भत्काउँदा खसेका भाटासाटाले उनको शरीर थिच्यो । भरतपुर अस्पताल पुगेर उपचार गरिन् । १०/१५ दिन औषधि खाएपछि ज्यान दुख्न कम भएको छ । तर मन पोल्न छाडेको छैन । ‘अब यो घर कसरी ठड्याउने हो, चिन्ता लाग्छ,’ बुधनीले सुनाइन् ।

जंगली हात्तीले गएको वर्ष पनि पुसमै उनको घर भत्काएको थियो । खरको छानो, खरले नै बारेर माटोले पोतेको घर हेर्दा सामान्य लाग्छ । तर त्यही बनाउन पनि खर्च त लाग्छ नै । गत वर्ष जेनतेन उनले भत्केको घरको मर्मत गरिन् । हात्तीले दोहोर्‍याएर आक्रमण गरेपछि उनको घरको अहिले ठिंग उभिएका एकाध खाँबा र ढोका मात्रै बाँकी छन् ।

उनको घर ताकेर आउने जंगली भाले हात्ती ‘ध्रुवे’ हो । कुनैबेला निकै आक्रमक यो हात्तीले बदनामी पनि धेरै कमाएको छ । पाण्डवनगरसँगै जोडिएको गाउँ हो ‘द्रोपतीनगर’ । द्रोपतीनगरसँग ‘ध्रुवे’ हात्तीको उत्पातको उत्कर्ष जोडिएको छ । तर यो दशक पहिलेको कुरा हो । यो हात्तीले २०६९ मंसिर ३० गते द्रोपतीनगरका ६० वर्षीय बुद्धिराम बोटे र उनकी श्रीमती जरिया बोटेको ज्यान लिएको थियो । द्रोपतीनगरको यो घटनाअघि ‘ध्रुवे’ले सोही वर्षको कात्तिक २७ गते एक जनालाई र कात्तिक १९ मा अर्को एक जनाको ज्यान लिएको थियो । यी दुवै घटना माडी द्रोपतीनगर आसपासका थिए ।

डेढ महिनाभित्रै एकै क्षेत्रमा लगातार चार जनाको ज्यान लिएपछि प्रशासनले ‘ध्रुवे’ हात्तीलाई मार्ने निर्णय गरेको थियो । त्यो बेला ‘ध्रुवे’लाई मार्नका लागि पछ्याउने क्रममा सरकारको १६ लाख रुपैयाँ खर्च भएको थियो । सेनासहितको टोलीले पछ्याउन थालेपछि अचानक हराएको ‘ध्रुवे’ मरेको हुन सक्ने धेरैको अनुमान थियो । किनकि ‘ध्रुवे’लाई गोलीसमेत लागेको थियो । त्यस विपरीत २०७३ को हिउँदमा ‘ध्रुवे’ चितवन निकुञ्जको पश्चिम क्षेत्रको जंगलमा देखा पर्‍यो । चितवन निकुञ्जका अधिकारीहरुले बेलाबेलामा पत्रकार सम्मेलनमार्फत् दिएको जानकारी अनुसार चितवनमा ‘ध्रुवे’ पहिलो पटक २०६६ को हिउँदमा देखा परेको थियो ।

चितवन निकुञ्जको रेकर्ड अनुसार उक्त भाले हात्तीले २०६६ माघ २३ गते पहिलो पटक मान्छे मारेको थियो । त्यसपछि द्रोपतीनगरको घटनासम्म ‘ध्रुवे’ले १५ जनाको ज्यान लिएको थियो । सरकारले नै मार्ने भनेर सेना लगाउँदासमेत छकाएर बाँचेको ‘ध्रुवे’ पहिलाको जस्तो आक्रमक नभए पनि मान्छेमाथि जाइलाग्न भने छाडेको छैन । २०७८ माघमा ‘ध्रुवे’ले चितवन निकुञ्जमा तैनाथ एक जना सैनिकको ज्यान लिएको थियो । त्यसअघि २०७७ चैत्रमा पटिहानीमा एक महिलाको पनि ‘ध्रुवे’ हात्तीले आक्रमण गर्दा ज्यान गएको थियो । २०७७ को गैंडा गणनामा चितवन निकुञ्जको पश्चिम क्षेत्रमा ‘ध्रुवे’सँग जम्काभेट हुँदा गणक सवार हात्ती भाग्न थाले । जसका कारण गणनामा सरिक राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका विनोद श्रेष्ठ हात्तीबाट खसेर गम्भीर घाइते भए । उनी अझै निको हुन सकेका छैनन् ।

यस्तो विगत बोकेको ‘ध्रुवे’ हात्ती बुधनीको घर आँगनमै आउँछ । ‘हामी यो ठाउँ छाडेर कहाँ जाने ? पितापुर्खा नै यही बसेका हुन्,’ बुधनीका श्रीमान् ७२ वर्षीय शुकबहादुर बोटेले भने ।

पाण्डवनगर गाउँको पश्चिम सिमाना चितवन निकुञ्ज छ । निकुञ्जको जंगल नै बुधनीको घरसँग जोडिएको छ । उत्तरमा रिउ खोला छ । रिउ खोला पारि चितवन निकुञ्ज नै पर्छ । निकुञ्जले घेरिएको ठाउँमा जनावर आइरहन्छन् । श्रीमान् र छोराबुहारीहरु भएपनि बुधनी अलग्गै छाप्रोमा एक्लै बस्छिन् ।

‘मलाई चोखोनितो चाहिन्छ । माछा, मासु, जाँड रक्सी केही खान्नँ । देउता पुकार्दै जल चढाउँछु । अरुले जेपनि खान्छन् । त्यसैले म परिवारभन्दा अलग्गै बसेकी छु । तर हात्तीले गर्दा डरै डर छ,’ बुधनीले भनिन् ।

निकुञ्जका अधिकारीहरु ‘ध्रुवे’ हात्ती चितवन निकुञ्जको पूर्वी क्षेत्र साौरहा खोरसोर पुगे पनि प्रायः पश्चिम क्षेत्रमा केन्द्रित हुने गरेको बताउँछन् । पछिल्ला वर्षमा घर भत्काउने, धान र अन्य खाद्यान्न खाने गरे पनि मान्छेमाथि नै ठूलो आक्रमण नगरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले बताए ।

चितवन निकुञ्जको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक हात्ती आउने सम्भावना भएका कारण भगाउनका लागि हरदम टोली तयार रहेको बताउँछन् । भदौ, असोजपछि हात्ती गाउँ पसेर माघसम्म दु:ख दिने गर्छ ।

‘हात्ती लखेट्न ट्रयाक्टर लिएका छौं । सुरक्षित तरिकाले हात्ती धपाउन स्थानीयलाई प्रशिक्षित गरेका छौं । सेनाको पनि सहयोग लिन्छौं,’ पाठकले भने ।

यसका साथै तारबार र पर्खाल लगाएका कारण जनावर गाउँ छिर्न निकै कम हुँदै गएको उनले बताए । ‘हामीले पश्चिम जंगलतिर डेढ किलोमिटर जति आरसीसी पक्की पर्खाल लगाएर हात्ती जस्ता ठूला जनावरलाई छेक्न खोजेका छौं । खाल्डो भएको ठाउँमा पर्खाल लगाउन नसक्दा हात्ती गाउँटोलतिर आइरहेको छ । यसलाई रोक्ने उपाए पनि खोज्दै छौं,’ पाठकले भने ।

पूर्वतिर खोला भएका कारण छेकबार लगाउन सकिएको छैन । जनावर पूर्वी सीमाबाट पस्ने खतरा रहने हुँदा गाउँले सधैं सजग भने भइरनु पर्छ । बोटे समुदाय खोला र नदी किनारमा बस्ने चितवनका आदिवासी हुन् । परम्परागत रुपमा उनीहरुले माछा मार्ने र डुंगा तार्ने पेसा अपनाएका थिए । तर अहिले निकुञ्ज आडमा नदी र खोलामा माछा मार्न कडाइ गरिएको छ । डुंगा तार्ने पेसा बन्द नै भयो । बाटे समुदायका अधिकांशसँग आफ्नो नामको जग्गा छैन ।

बुधनी र उनको परिवारका नाममा पनि जमिन छैन । पुरानो ठाउँ छाडेर अन्यत्र बस्न जाने उपाए उनीहरुसँग छैन । ‘जाउँ कहाँ जाउँ, जग्गा किन्न पैसा छैन । त्यसै बस्न कसैले दिँदैन । पहिला त जनावरको निकै डर थियो । अहिले केही कम भएको छ तर पूरै रोकिएको पनि त छैन । कुन बेला के हुने हो भन्ने त्रासमा बाँचिरहेका छौं,’ शुकबहादुरले भने ।

मध्यवर्तीमा बस्ने स्थानीयको घर गोठ क्षति भएमा राहत पाउने व्यवस्था पनि छ । जनावरले घर भत्काएमा स्थानीयले बढीमा २० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् । वडा कार्यालयले पनि बिमा गरेको बुधनीले बताइन् । बिमा र मध्यवर्तीको राहतबाट गत वर्ष ३० हजार रुपैयाँ पाएको उनले सुनाइन् । ‘अचेलको जमानामा ३० हजार रुपैयाँले के नै बनाउन सकिन्छ र ?,’ बुधनीले दु:खेसो पोखिन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully