खानीखोलामा चिर्पट र चुपी प्रहारबाट दुई जना घाइते 

फाल्गुन १८, २०८१

ज्योती श्रेष्ठ

Two people were injured in the minefield from Chirpat and Chupi

काभ्रे — काभ्रेको खानीखोला गाउँपालिकामा एक युवकले दुई जनामाथि चिर्पट र चुपी प्रहार गरेका छन् । आइतबार  साँझ ५ बजेतिर खानीखोला गाउँपालिका-५ स्थित तालढुंगामा स्थानीय २८ वर्षीय विकास भुजेलले मादक पदार्थ सेवन गरी उनकी आमा ५० वर्षीया सुनमाया भुजेललाई चिर्पट प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार, चिर्पट प्रहारबाट घाइते भएकी सुनमायाको तालढुंगास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको उनले बताए ।

विकासले आफ्नी आमालाई मात्र नभएर खानीखोला गाउँपालिकाको कार्यालयमा कार्यरत गाउँ प्रहरी खानीखोला-५ बस्ने ३० वर्षीय पाल्साङ तामाङलाई चुपी प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए । उनका अनुसार, चुपी प्रहारबाट घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । उनको छाती र ढाडमा चोट लागेको छ ।

चुपी प्रहारी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully