सिन्धुपाल्चोक — जिल्लाका प्रसिद्ध पर्यटकीय गन्तव्य रहेका लेकभेगका कुण्ड र हिमश्रृंखला हिमपातपछि मनमोहक देखिएका छन् । शुक्रबारदेखि हिउँ परेपछि यस भेगमा चार फिट बाक्लो हिउँ परेको छ । हिमपातपछि हिउँमा खेल्नेको लर्को लाग्न थालेको छ ।
समुन्द्री सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पाँचपोखरी र त्यहाँ पुग्ने पर्यटनमार्ग खुबै लोभलाग्दा देखिएकाछन् ।
उता चीनसँग सीमा जोडिएका भोटेकोशी गाउँपालिकाको छगाम, बगाम,चोकरमोकर, तल्लो टोलदेखि भैरवकुण्ड (आमाछ्योमेन) पुग्ने ट्रेकिङ रुट हिउँले ढाकेर रमणीय बनेको छ।
यसअघि काला पहाडमा परिणत भएका जुगल, गणेश, सेमिसिदाङ, गाङछम्बो, आमायांग्री, खराने, दोर्जेलाक्पाजस्ता दर्जनौं हिमश्रृंखला हिमपातले लोभलाग्दा भएका हुन् ।
‘हिमपातले गर्दा यस भेगका कुण्डमा हिउँ खेल्दै हिमाल हेर्न आउने पर्यटक लोभिएका छन्, आन्तरिक र बाहृय पर्यटकको आगमन हुन थालेको छ, दिनहुँ दुई दर्जनभन्दा बढी पर्यटक आउन थालेका छन्,' पर्यटन व्यवसायी कुमार राउतले भने । समृद्ध नेपालका अध्यक्षसमेत रहेका होमस्टे अभियन्ता राउतका अनुसार ऐतिहासिक दुगुनागढी, बगाम, छगाम, अन्थलीमा पर्यटकका लागि घरबास सञ्चालनमा ल्याइएको छ भने पर्यटकीय समृद्धीका लागि राष्ट्रिय विभूति कलाकार अरनिकोलाई सम्झँदै भोटेकोशी गाउँपालिका–५ स्थित मार्मिङ त्याङथलीमा अरनिको गाउँ निर्माण गरिएको छ ।
