चितवन — कालिगण्डकी नदीको आडैमा पर्ने तनहुँको कोटा गाउँ । देवघाट गाउँपालिका–१ मा पर्ने उक्त गाउँको श्री पार्वती माविको प्राङ्गणमा शनिबार भएपनि चहलपहल थियो । भरतपुर चौबिसकोठीको चितवन अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको टोली निःशुल्क स्वाास्थ्य शिविर गर्न आएपछि स्थानीयहरू विद्यालयमा जम्मा भएका थिए । अभिभावकहरू आफूलाई जँचाउन मात्र नभएर बच्चा देखाउन पनि आएका थिए ।
विद्यालको पश्चिमतर्फ रहेको भवनको एउटा कोठामा थिए बालरोग विशेषज्ञ चिकित्सक डा. कृष्णसागर शर्मा पौडेल । उनीसँग जँचाउन आए ६० जना बालबालिका । 'एक जना सात वर्षकी बच्चीको दाहिने आँखा हेर्दै अस्वभाविक लाग्यो । परीक्षण गर्दा आँखाको ज्योति राम्रो छैन भन्ने देखियो,' डा. पौडेलले भने । त्यो आँखाले राम्ररी नदेख्ने कुरा सँगै आएकी आमाले पहिलो पटक थाहा पाइन् ।
डा. पौडेलले उनलाई तत्कालै आँखा अस्पताल लैजान सिफारिस लेखे । 'छिट्टै उपचार सुरू गरे आँखाको समस्या थप बढ्न नसक्ने र आँखा राम्रो हुने सम्भावना पनि छ,' डा.पौडेलले भने । त्यस्तै, सात वर्षकी अर्की बालिका जम्मा १४ किलोकी रहिछन् । यो उमेरको बच्चा कम्तिमा २० र २५ केजीको हुनुपर्छ । ती बालिकालाई जन्मैदेखि छाला चिलाउने समस्या रहेछ । औषाधि खुवाउने गरेपनि केही दिन निको भए जस्तो हुने र फेरि समस्या बल्झने गरेको सँगै आएकी आमाले बताइन् ।
कुनै एलर्जी समस्याले यस्तो भएको र रगत परीक्षण गराउन पर्ने डा. पौडेलले सल्लाह दिए । सानै उमेरबाट टाउको दुख्यो भन्दै रूने गरेकी १४ वर्षकी किशोरीले पनि पहिलो पटक चिकित्सक भेटिन् । आफूसँग जँचाउन आएका बालबालिकाका समस्या र उपचारमा भएको ढिलाई भएको डा.पौडेलले सुनाएलगत्तै देवघाट गाउँपालिका–१ का वडाध्यक्ष मणिराज गुरूङले भने, 'यस्ता रोग, व्यथा यता धेरै नै छन् । गएको माघ १० गते यहाँकी एक जना १३ वर्षकी बालिका बितिन् । उनी अरू केही हैन कान दुख्यो भनेर रोइरहन्थिन् रे । तर उपचारमा लैजान सकिएन, अस्पताल पुर्याउने उपाय अभिभावकसँग रहेनछ । मैले पनि यो कुरा बेलैमा थाहा पाइनँ ।'
'कोटाबाट झोलुंगे पुल तरेर गैंडाकोटको ढोडेनी हुँदै भरतपुर पुग्न जम्मा १५ किलोमिटर जति होला,' भन्छन् वडाध्यक्ष गुरूङ । तर पक्की पुल नहुँदा गाडी चढेर ओहोरदोहर गर्न सकिँदैन । देवघाट हुँदै चितवन ठिमुराबाट त्रिशुली तरेर भरतपुर पुग्दा ३५ किलोमिटर जति दूरी पार गर्नु पर्दछ । त्यसमाथि कोटाबाट देवघाटसम्म पुग्ने बाटो सजिलो पनि छैन । ठिमुरामा यसै वर्ष पुल बनेपछि बल्ल कोटा र भरतपुर यातायातबाट जोडिएको हो ।
'नजिक भनेर के गर्नु असुविधाले टाढा बनायो । यो ठाउँ निकै कुनो परेको छ । त्यसैले उपचारका लागि पनि बाहिर जान सजिलो भएन,' वडाध्यक्ष मणिराज गुरूङले भने ।
शिविरमा ४२५ जनाको परीक्षण भएको चितवन अस्पतालका सञ्चालक रहेका डा.विजय पौडेलले जानकारी दिए । भिडिओ एक्सरे सुविधा र विषेशज्ञ चिकित्सकसहित गएको टोलीले १३० जनाको भिडिओ एक्सरे गरेको थियो । दुई सय जनाको ब्लड सुगर परीक्षण गर्दा १२ जनामा समस्या देखिएको डा. पौडेलले बताए ।
