विद्यालयमा सिकाइ मेला

फाल्गुन १६, २०८१

रमेशकुमार पौडेल

Learning fair in schools

चितवन — कोही कपास हातमा लिएर दियोमा बाल्ने बत्ती कात्दै छन्, कोही ठेकीमा मही पार्दैछन् । ढिकी कुट्दै गरेको पनि त्यहाँ देखिन्छ । बाँसको चोयाबाट डालो नाङ्लो बुन्नेहरू पनि काममा व्यस्त छन् । परालको गुन्द्री पनि तयार हुँदैछ । सालको पातको टपरी गाँस्दै गरेकाहरूको समूह आफ्नै धुनमा छ ।

कुनै बेला निकै प्रचलनमा रहेको यो दृश्य अचेल दुर्लभ हुँदै गएको छ । शुक्रबार नारायणगढ क्षेत्रपुरको न्यु होराइजन इंग्लिस स्कुल प्रांगणमा विद्यार्थी, अभिभावक र शिक्षकहरूले पुराना दिन सम्झाउने प्रयास गरे ।

विद्यालयको अभिभावक दिवसको अवसर पारेर सीपमा आधारित सिकाइ मेला आयोजना गरेको प्रिन्सिपल वसन्त रानाभाटले जानकारी दिए । मेलामा पुराना सीप कलाका साथै रैथाने परिकार पनि राखिएको थियो ।

Learning fair in schools

'हाम्रा पुराना सीपकलाहरू के के थिए, त्यस बारेमा विद्यार्थीलाई प्रतक्ष्य बुझाउन यसो गरेका हौं । कौसी खेती प्रविधि र आधुनिक सीप कला पनि विद्यार्थीले प्रस्तुत गरेका छन्,' प्रिन्सिपल रानाभाटले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully