६ किलो अफिम र ३१ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ

फाल्गुन १५, २०८१

सुवास विडारी

One arrested in Makwanpur with 6 kg of opium and 31 kg of ganja

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिमसहित एक जना सवारी चालकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरीचौकी सुनाचुरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी–६, नयाँबस्तीस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा साइड लगाएर राखेको बा.७ च ७०१८ नम्बरको जीपलाई शंका लागेर जाँच्दा अवैध लागूऔषध अफिम र गाँजा नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालका अनुसार जीपबाट गाँजा ३१ किलो ५६० ग्राम., अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्यान्ड) १२७ किलो ९४० ग्राम फेला परेको थियो । प्रहरीले लागूऔषध तथा जीपसमेत नियन्त्रणमा लिएपनि तत्काल फागुन १० गतेदेखि फरार रहेका जीप चालकको खोजतलास तथा अनुसन्धानको क्रममा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भइ हाल काठमाडौं–१३, पेप्सीकोला बस्ने ३८ वर्षीय लालबहादुर तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो ।

मकवानपुर प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँगको समन्वयमा काठमाडौं गोकर्णेश्वर–४, जोरपाटीबाट उनलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय मनहरीबाट यस विषयको अनुसन्धान भइरहेको उपरीक्षक अर्यालले जानकारी दिए ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully