त्रिशूली-छहरे-टोखा सडकमा बिहीबारदेखि ‘टाइम कार्ड’ लागू गरिने

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Time card will be implemented on Trishuli-Chhare-Tokha road from Thursday

नुवाकोट — जिल्ला प्रशासन कार्यालय नुवाकोटले त्रिशूली-छहरे-टोखा सडक खण्डमा बिहीबारदेखि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।

सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न, यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन सोमबार सरोकारवालासहित बसेको बैठकले उक्त सडक खण्डमा चल्ने सबै सार्वजनिक यातायातका साधनहरुमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए । 

'विस्तार हुँदै गइरहेको सहरीकरण, बढ्दो सवारी चाप एवम् सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गरी त्यस्तो जोखिम न्यूनीकरण गर्न तथा यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन ०८१ फागुन १२ गते सरोकारवालसहितको बैठकबाट भएको निर्णयअनुसार त्रिशूली-छहरे-टोखा काठमाडौं सडक खण्डमा सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनहरुका लागि ०८१ फागुन १५ गते बिहीबारदेखि लागू हुने गरी सवारी टाइम कार्ड लागू गरिएको छ,' सहायक प्रजिअ हुमागाईंले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।  

पछिल्लो समय नुवाकोट जिल्लाभित्र पनि सवारी दुर्घटना बढ्दै गइरहेको उल्लेख गर्दै सहायक प्रजिअ हुमागाईंले सवारी दुर्घटनाबाट भौत्तिक, आर्थिक तथा मानवीय क्षतिसमेत हुने भएकोले सवारी साधनहरु सडकको क्षमता तथा प्रकृतिअनुसार निर्धारित मापदण्डभित्र रही मर्यादित रुपमा सञ्चालन हुनु आवश्यक रहेकोमा जोड दिएका छन् । 

प्रशासनले सार्वजनिक यातायातका साधनहरुले स्वीकृत मापदण्डभित्र रही सवारी टाइम कार्ड अनिवार्य रुपमा जाँच गराएर मात्र सञ्चालन गर्न/गराउन सम्बन्धित यातायात व्यवसायी कम्पनी, सवारी चालक तथा सरोकारवाला सबैमा आग्रहसमेत गरेको छ ।  

Time card will be implemented on Trishuli-Chhare-Tokha road from Thursday

कान्तिपुर संवाददाता

Link copied successfully