मकवानपुरमा बस र कार ठोक्किँदा बेहुला–बेहुलीसहित ५ जना घाइते

फाल्गुन १४, २०८१

प्रताप विष्ट

5 people including the bride and groom injured when a bus and a car collided in Makwanpur

हेटौंडा — पूर्वपश्चिम सडक खण्ड अर्न्तगत मकवानपुरको मनहरी गाउँपालिका—६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बिएबी ११४७ नम्बरको कार र काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०१—००६ ख ५७७३ नम्वरको बस बुधबार  बिहान साढे ३ बजे सुनाचुरीमा एक आपसमा ठोक्किँदा कारमा सवार बेहुलाबेहुलीसहित ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा काभ्रे पनौती नगरपालिका—१० का २८ वर्षीय बेहुला यसबराज अधिकारी, बेहुली २२ वर्षीया श्रद्धा दाहाल, २३ वर्षीया पुष्पा अधिकारी, २३ वर्षीय त्रिशु थापा र चालक यतिराज अधिकारी रहेका छन् । घाइतेहरुलाई तत्कालै उपचारको निम्ति भरतपुर पठाएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् । विराटनगरमा विवाह गरेर काभ्रेतर्फ बेहुली लिएर फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटना हुँदा दुवै सवारी साधनमा क्षति भएको छ । बस र बस चालक नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ४१ वर्षीय वीरबहादुर लामालाई प्रहरी नियन्त्रणमा छन् । 

प्रताप विष्ट

Link copied successfully