सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर–९, बाह्रबिसे बजारमा विपन्नका नि:शुल्क कपडा बैंक स्थापना गरिएको छ । सहयोगी हातहरुद्वारा सञ्चालित यो बैंकमा विपन्नहरुका लागि कपडा राखिएको छ ।
जिल्लाका दुर्गम र सुगम क्षेत्रमा रहेका विपन्न बालबालिका र वृद्धवृद्धाले यहाँबाट आफ्ना लागि नि:शुल्क लत्ताकपडा लैजाने गरेका छन् । हुनेहरुले अन्यका लागि सहयोग र कपडा बैंकमा जम्मा गरेर जान थालेका छन् ।
यस्तो नि:शुल्क लत्ताकपडा बैंक स्थापना गरिएको अभियान जिल्लामा नयाँ र पहिलो हो । कपडा बैंक यसअघिदेखि सञ्चालनमा रहे पनि बुधबारदेखि सहयोगी हातका प्रतिनिधिले यसमा आवश्यकता अनुसार विपन्नलाई कपडा लैजान र हुनेहरुले दिन आह्वान गरेका छन् ।
यसअघि बैंकमा भएका लत्ताकपडा र स्टेशनरी जिल्लाभरका आठ विद्यालयका आर्थिक अभाव झेलिरहेका बालबालिकालाई सहयोग गरिएको थियो । चार वर्षअघिदेखि विभिन्न गाउँबस्तीमा विपद् ,आगलागीसहित अभावमा रहेका पीडित परिवारलाई सहयोगी हातले विभिन्न सहयोग गर्दै आएको छ ।
सहयोगी हातहरुका अभियान्तामध्ये एक रहेका स्थानीय व्यवसायी विकेश लामाकाअनुसार विपन्न र अभावमा परेकाको लागि नि:शुल्क लत्ताकपडा बैंक स्थापना गरिएको हो । ‘दैनिक बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म खुला रहने बैंकमा बालबालिकादेखि वृद्धवृद्धालाई हुने लत्ताकपडा राखिएका छन् । जो–कोही अभावमा परेकाले यहाँबाट लत्ताकपडा लैजान दिइने गरिएको छ,’ उनले भने ।
सहयोगी हातहरुमा जिल्लाको बाह्रबिसे नगरपालिका, बलेफी र त्रिपुरासुन्दरी गाउँपालिकाभरका गरी बैंक, वित्तीय संस्था, बीमा, सहकारी, मेडिकल र विद्यार्थी गरी २८ युवा तथा व्यवसायी आबद्ध छन् ।
आगलागीमा पाठ्यपुस्तक र कपडा जलेपछि स्वीटरको भरमा विद्यालयमा पढ्न आइरहेका थिए बाह्रबिसे– ५ का कर्मबहादुर तामाङ नि:शुल्क रुपमा लत्ताकपडा पाउँदा खुसी देखिए ।
कक्षा ९ मा अध्ययनरत उनलाई सहयोगी हातका प्रतिनिधिहरुले उनी अध्ययनरत सारदा माविमै पुगेर विद्यालय पोसाक, स्टेशनरी दिएपछि उनले आभार व्यक्त गरे । आगलागी पीडित तामाङको परिवारलाई पनि खाद्यान्न, कपडा सहयोग गरिएको छ ।
उनीसहित आर्थिक सकस झेलेका स्थानीय साजन थापाले पनि कपडा र स्टेशनरी सहयोग पाएर प्रतिनिधिलाई धन्यवाद दिए । ‘यो सहयोगी कामले अनेकौं विपन्न बालबालिका र मान्छेले लत्ताकपडा पाएर हर्षित छन्, यस्तो काम सबै ठाउँमा आवश्यक छ,’ बाह्रबिसे नगरपालिका वडा ९ का अध्यक्ष कृष्णबहादुर रायमाझीले भने ।
