प्रदेश सरकारले माझीको लदी पर्वमा सार्वजनिक बिदा दिने

फाल्गुन ९, २०८१

प्रताप विष्ट

The state government will give a public holiday on Majhi's Ladi festival

हेटौंडा — वाग्मती प्रदेश सरकारले माझी समुदायको लदी पर्वका दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी  पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने बताए ।

वाग्मती प्रदेशमा मकवानपुर, चितवन, सिन्धुली, दोलखा,धादिङ जिल्लामा माझी समुदायको बसोबास छ ।

मन्त्रिपरिषद् बैठकले दुई जना कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेशका सिनियर डिभिजन इन्जिनियर नवीन सिंहलाई ११ औँ तह (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सहसचिव रानालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री  लामिछानेले दिए । उनका अनुसार पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिव स्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गराउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै वन डढेलो सम्बन्धमा अस्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रताप

Link copied successfully