पछिल्ला ७ महिनामा मकवानपुरमा मात्रै भीरबाट लडेर १० जनाको मृत्यु
हेटौँडा — मकवानपुरमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । थाहा नगरपालिका–५ नलिवनका ३२ वर्षीय राजकुमार पाख्रिनको थाहा नगरपालिका–७ भट्टीभाँडाको भीरबाट खसेर मृत्यु भएको हो ।
थाहा नगरपालिका–८ दामगढीस्थित विवाहको भोज खाएर फर्किनेक्रममा उनी भीरबाट लडेका थिए । करिब २ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले प्रहरीले जनाएको छ ।
भट्टीडाडास्थित खाजा घरमा चुरोट किनेर घर पछाडि पिसाव गर्न जाँदा उनी भीरबाट खसेको पसल सञ्चालक पार्वती गोलेले बताइन् । जिल्ला प्रहरी कार्यालय हेटौँडाका अनुसार मकवानपुरमा यो आर्थिक वर्षका ७ महिनामा भीरबाट लडेर १० जनाको मृत्यु भइसकेको छ । यही अवधिमा अन्य ११ जना घाइते भएका छन् ।
