काठमाडौँ — सदरमुकाम चरिकोटमा मंगलबारबाट दोलखा महोत्सव सुरु भएको छ । आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न दोलखा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो ।
फागुन १८ गतेसम्म आयोजना हुने महोत्सवमा कृषि तथा घरेलु हस्तकला प्रदर्शनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी हुनेछ । साथै जातीय सांस्कृतिक झलकहरु, बाल उद्यान, झाँकी तथा र्याली, लोकनृत्य प्रतियोगिता, खाना महोत्सव पनि हुनेछ ।
आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्वसमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने कार्यक्रम पनि रहेको बताए । महोत्सवमा एक सयभन्दा बढी स्टल रहेका छन् । महोत्सवलाई सफल बनाउन चरिकोट बजारमा विभिन्न जातजातीको झाँकीहरुको र्याली आयोजना गरिएको थियो ।
महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गरे ।
