चितवन — क्यान्सर भएका बालबालिकाले कोरेका अनेक चित्रको निर्णायक समूहले मूल्यांकन गरेर विजेता घोषणा गरे । पुरस्कार पाउँदा बालबालिका निकै रमाए । विश्वभर बाल क्यान्सरविरुद्धको दिवसका रुपमा मनाइने फेब्रुअरी १५ का अवसरमा शनिबार भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले उपचारमा रहेका बालबालिका बीच चित्रकाला प्रतियोगिता गराएको हो ।
अस्पतालमा उपचारत कक्षा ९ पढ्दै गरेकी एक बालिकाले कोरेको चित्र प्रथम त भयो नै । चित्रबाहेक पनि उनले आफ्नो उपचारमा प्रयोग भएका औषधिको बोतलका बिर्कोबाट रंगिन पुतली तयार गरिन् । उपचारमा आएपछि आफूलाई राम्रो हुँदै गएको र औषधिका साथै आत्मबलले आफू निको हुने आशा बढ्दै गएको उनले सुनाइन् । साथमा रहेका उनका बुबाले अस्पतालले राम्रो सेवा दिएको बताए ।
कार्यक्रममा सोही अस्पतालमा पाँच वर्षअघि क्यान्सरको उपचार गराएका एक जना युवकले आफू अहिले सो रोगबाट मुक्त भएको अनुभव राखे । १५ वर्षको हुँदा आन्द्रामा क्यान्सर देखिएको, समयमै अस्पताल आएर शल्यक्रिया गरेको, त्यसपछि ६ चरणमा केमोथेरापी गरेपछि वर्ष दिनभित्रै क्यान्सरमुक्त भएको र हाल पनि नियमित परीक्षण गराउँदा क्यान्सरको सम्भावना नदेखिएको उनले बताए ।
समयमै रोग पत्ता लगाएर राम्रोसँग उपचार गरे बाल क्यान्सर पूर्णरुपमा निको हुने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बाल क्यान्सर रोग प्रमुख डा.कृष्णसागर शर्मा पौडेलले बताए । तर नेपालमा क्यान्सर रोगको उपचारबारे जनचेतना नपुग्दा कमैमात्र उपचार लिन अस्पतालसम्म आउने गरेका छन् । अस्पताल आए पनि नियमित उपचार सेवा नलिँदा निको हुने दर कम हुन सक्ने उनले बताए ।
भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालमा क्यान्सरको उपचार हुने मुख्य अस्पताल हो । सन् १९९९ देखि उपचार सेवा सुरु भएको यो अस्पतालमा सन् २००७ देखि दुई शैय्या र एक जना चिकित्सकबाट बाल क्यान्सर युनिट सुरु भएको थियो । अहिले बाल क्यान्सर युनिटमा ६ चिकित्सक र ३७ वटा शैय्या छन् । एचडीयू र आइसीयू शैय्याको सुविधा पनि रहेको डा.पौडेलले बताए ।
नेपालमा वर्षमा १ हजार ५ सय बालबालिकामा क्यान्सर हुने आँकलन रहेको डा.पौडेलको भनाइ छ । तीमध्ये नेपालभरका विभिन्न अस्पतालमा गरेर नौ सय जनासम्म उपचारका लागि आउने गरेका छन् । ‘उपचारका लागि नै नआउने बालबालिकाको संख्या ठूलो रहेको छ,’ डा.पौडेल भन्छन् । भरतपुरको क्यान्सर अस्पतालमा मात्रै वर्षमा १० हजार बालबालिका ओपिडिमा आउने गरेका छन् ।
तीमध्ये क्यान्सर पुष्टि भएर उपचारका लागि भर्ना हुने बालबालिकाको संख्या वर्षमा सात सय जनासम्म हुने गरेका छन् । भर्ना हुनेमध्ये आधा नयाँ पत्ता लाग्ने क्यान्सर रोगी बालबालिका हुने गरेको डा.पौडेलले जानकारी दिए । ‘क्यान्सर पुष्टि भएपछि अस्पतालमा राम्रोसँग उपचार पूरा गरे ७० प्रतिशत बालबालिका पूर्ण रुपमा निको भएका छन् । तर उपचार नै पूरा नगरी छाड्ने पनि गर्छन्,’ डा.पौडेलले भने ।
उपचार पूरा नगरेपछि निको हुने कुरै भएन । यसरी क्यान्सर पत्ता लागेकामध्ये निको भएकाहरु सम्रमा ४० प्रतिशत हाराहारीमा मात्रै रहने गरेको डा.पौडेलले बताए । त्यसैले उपचारमा आउन र सुरु गरेको उपचार नियमित गराउन अपरिहार्य रहेको उनले बताए । नेपालमा १९ वर्षसम्मका व्यक्तिलाई क्यान्सर भएमा बाल क्यान्सरको समूहमा राख्ने गरिएको छ । तर सरकारी सुविधा १४ वर्षसम्मकालाई उपलब्ध हुन्छ ।
‘१४ वर्षसम्मका बालबालिकालाई क्यान्सर भए अस्पतालमा हुने सबै परीक्षण, शल्यक्रिया, थेरापी र शैय्या निःशुल्क छ । औषधि भने किन्नु पर्यो । यसमा पनि धेरै खाले सहयोग सहुयित र बीमा छ । लगभग साढे तीन लाख रुपैयाँ हाराहारी सुविधा र सहुलियतबाट औषधि पाइन्छ,’ डा.पौडेलले भने ।
तर १५ देखि १९ वर्षसम्मका बालबालिकाले अस्पतालबाट पाउने सुविधाका लागि पनि शुल्क तिर्नु पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसै महिनादेखि क्यान्सर भएका बालबालिकाका लागि ३५ प्रकारका औषधि निःशुल्क दिदै छ । उपचार सेवा अझै सुलभ बन्दै जाने आशा चिकित्सकहरुको छ । तर १५ वर्षदेखि १९ वर्षसम्मका बालकालिकाका लागि पनि नीतिगत व्यवस्था गरेर सहुलियत दिनुपर्ने डा.पौडेलले बताए ।
भरतपुरको क्यान्सर अस्पतालले निको हुन नसक्ने क्यान्सर भएका बालबालिकाका लागि पिडामुक्त सेवा दिन युनिट पनि खडा गरेको छ । बोनम्यारो प्रत्यारोपण जस्ता सुविधाहरु थप्न आवश्यक रहेको डा.पौडेल बताउँछन् । नेपालमा जन्मदै पनि बच्चामा क्यान्सर हुने गरेको छ ।
भरतपुरको क्यान्सर अस्पतालमा ६ महिनादेखिका बच्चा भर्ना भएर उपचार सेवा लिने गरेका छन् । बच्चालाई लामो समय लागातर ज्वरो आउने, रगत घट्दै जाने, बच्चा पहेलो हुने, ग्रन्थीहरु सुनिने, पेट फुल्न थाल्ने, शरीरका गाँठागुठी बढ्दै जान थाले क्यान्सरको आशंका गरेर परीक्षण सुरु गर्नुपर्ने डा.कृष्णसागर शर्मा पौडेलको सुझाव छ ।
‘लक्षण देखिएमा, परीक्षणमा पक्का भएमा पनि आत्तिनु पर्दैन । नियमित उपचारले रोग निको हुन्छ । चित्र बनाएर विजेता बनेका यी बालबालिका क्यान्सरका पनि बिजेता हुनेछन्’ डा.पौडेलले भने ।
