सिन्धुपाल्चोक — जिल्लाको इन्द्रावती गाउँपालिका–३ कुञ्चोक गाउँमा करिब दुईसय ८३ वर्ष पुरानो बौद्ध परम्पराको आकर्षक र कलात्मक माने छ, ‘बोधीलाभ स्तुपा ज्याङछुब र्छ्योतेन् ।’ जुन माने र्छ्योतेन् दिदीबहिनीको प्रेम कथाको सम्झनामा बनाइएको हो ।
शुक्रबार प्रेम दिवसका दिन यहाँका स्थानीयले मानेमा पूजा गर्दै विश्व शान्ति र प्रेमको लागि प्रार्थना गरे । विष्णु धर्माको प्रेम इतिहासलाई सम्झिएर भावुक पनि भए । दुवैलाई सम्झिँदै विश्वभरका पितृको उद्धारार्थ यहाँ बौद्ध परम्पराअनुरुप पूजा गर्ने गरिएको छ ।
विसं १७९४ जेठमा अज्ञात रोग महामारी सबैतिर फैलियो । त्यतिबेला ६ महिनासम्म थलिएर स्थानीय विष्णुमती तामाङको मृत्यु भएपछि उनकी बहिनी धर्माले दिदीबिना आफू बाँच्न नसक्ने भन्दै दिदीसँगै चितामा जलेकी थिइन् । इन्द्रावती–३ कुञ्चोक गाउँका ७० वर्षका वीर तामाङकाअनुसार दुवैको प्रेम कथाको सम्झनामा त्यही स्थानमा अहिले (सति माने) बनाइएको छ ।
‘त्यतिबेला थकाहृयुल्सा राज्यमा सतीप्रथा अनिवार्य थिएन, धर्मा दिदीको प्रेममा डुबेर नै उहाँ सती जानुभएको हो, त्यतिबेला गाउँलेले सम्झाउँदा उहाँ नरोकिएको कथा अनि दुवैको पूर्वजन्मका अनेक कथा प्रचलित छन्,’ उनले भने । प्रत्येक गाउँगोठ बजारका स्थानीय वृद्धवृद्धामा ‘सती मानेका धर्माविष्णुजस्तो दिदीबहिनी आपसमा माय स्नेह गर्ने हुन् ’भन्ने गरेका छन् ।
दिदीबहिनीको प्रेमको स्मरणमा यही स्थानमा सती माने बनाएर दुवैलाई बौद्ध परम्पराअनुरुप पूजा गर्दै सम्झिन थालिएको सतीको माने बोधी लाभ स्तुपा ज्याङछुब र्छोतेन निर्माण तदर्थ समितिका अभियान्ता सुनिल थिङले बताए । प्राचीन सती मानेलाई भूकम्प र पराकम्पनले ध्वस्त बनाइदियो, पुनर्निर्माण र पूजाको लागि सात सदस्यीय समिति बनाइएको छ ।
दुईसय ८३ वर्ष पुरानो कलात्मक मानेलाई भूकम्प र पराकम्पनले ध्वस्त तुल्यायो । फेरि ०७६ माघ २५ मा प्रेम प्रतीक सेतो रंगले सजाएर बौद्ध परम्पराअनुसार सती माने ठड्याइएको इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वशलाल तामाङले बताए । ‘बोधीलाभ स्तुपा ज्याङछुब र्छ्योतेन्’ नामकरण गरेर बौद्ध धर्मगुरु लोपेन हिशे दोर्जेबाट पूजापाठ, छेवाङ र धार्मिक प्रवचन दिइएको उनले जनाए ।
