खैरो हिरोइनसहित ४ जना पक्राउ

फाल्गुन १, २०८१

सुवास विडारी

4 arrested with gray heroin

मकवानपुर — मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ बाट दुई वटा मोटरसाइकलमा आएका ४ जनालाई ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौँडा ८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षका भीमसेन पाण्डे, हेटौँडा ७ का २७ वर्षीय मन्जित गौतम र हेटौँडा ५ का २० वर्षका साकार ढुङ्गेल रहेका छन् ।

वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको गरेको प्र.२–०३–०२१ प ६३०८ नम्बर र बा.प्र.०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल चेकिङको क्रममा ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

शंकाको आधारमा उनीहरूको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थाको खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ ।

सोधपुछ गर्ने क्रममा ४ जना मिलेर खरिद गरी ल्याएको बताएपछि प्रहरीले चार जनालाई पक्रेको हो । चार जनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully