दोलखा — गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका–७ सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा जलेको छ । आगो नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय त्रसित छन् ।
३ हजार मिटर उचाइभन्दा माथिबाट सल्केको डढेलो घनाजंगल र खर्कहरूमा फैलिएको गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन स्थानीय समिति मार्वुका अध्यक्ष कुमार गुरुङले बताए । ‘डढेलो नियन्त्रणमा लिन निकै प्रयास गर्यौं, तर त्यस क्षेत्रमा जान सकिएन,’ उनले भने, ‘फैलिएर नियन्त्रण बाहिर गएको छ ।’
डढेलो नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासनमा सर्वपक्षीय बैठकसमेत बसेको उनले बताए । डढेलोको धूवाँ बस्तीहरूमा मडारिएको उनले बताए । डढेलोको धूवाँले गौरीशंकर हिमालसहित रोल्वालिङ हिमशृंखला र उत्तरका गाउँहरू ढाकिँदै गएका छन् । ‘रेडपाण्डाको बासस्थानका रूपमा रहेको निगालोको घनाजंगल डढेलोले सखाप बनाएको छ,’ उनले भने, ‘डढेलो तलतिर झरिरहेको छ, खस्रुको जंगलमा अनियन्त्रित भएर फैलिरहेको छ ।’
चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेको अनुमान गरिएको छ । डढेलो नियन्त्रणका लागि उक्त क्षेत्रमा थप टोली पठाए पनि भौगोलिक विकटताका कारण नियन्त्रण गर्न नसकी फर्किएको संरक्षण क्षेत्र प्रमुख तुलसीप्रसाद दाहालले बताए । ‘यही रफ्तारमा डढेलो फैलिए संरक्षण क्षेत्रको धेरै भाग जल्नेछ,’ उनले भने, ‘प्रशासनसँग सहयोग मागेका छौं, डढेलोले जंगल र खर्क नष्ट भएको छ ।’ रेडपाण्डा र झारलको बासस्थान पनि रहेको हिमाल नजिकैका खर्कहरूमा डढेलो बढेको दाहालले बताए । ‘मानव बस्तीभन्दा निकै माथि भएकाले नियन्त्रणमा कठिनाइ भएको छ, दुई वटा टोली नियन्त्रणका गए पनि नसकेर फर्किएको छ,’ उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिलाई नियन्त्रणका लागि आग्रह गरेका छौं ।’
हिमाली क्षेत्रमा तीव्र गतिको हावाका कारण डढेलो अनियन्त्रित भएको उनले बताए । सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आउन नसक्दा त्यसको धूवाँले दोलखाको बिगु गाउँपालिका–६ र ७ प्रभावित बनेको छ । धूवाँका कारण विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएको बिगु–७ आलम्पुस्थित थम्पु माध्यमिक विद्यालयकी प्रधानाध्यापक तुलसी थामीले बताइन् ।
‘सिन्धुपाल्चोकतर्फको डढेलोयता सर्दै आइरहेको छ, धूवाँको मुस्लोले गाउँ ढाक्दै गएको छ,’ उनले भनिन्, ‘धूवाँका कारण आँखा पिरो हुनेलगायतका समस्याले स्थानीय प्रभावित बनेका छन्, कक्षाकोठामा समेत बालबालिकालाई अध्ययनमा समस्या भएको छ ।’
आलम्पु र बिगु सिन्धुपाल्चोकसँग जोडिएका गाउँ हुन् । उताबाट डढेलो आइपुग्ने डरले स्थानीय त्रसित बनेको उनले बताइन् । सिन्धुपाल्चोकतर्फको डढेलो नियन्त्रणको प्रयास भइरहेको संरक्षण प्रमुख दाहालले बताए । ‘सिन्धुपाल्चोकको डढेलो दोलखा आउन नदिन अग्निरेखा कोर्ने काम भइरहेको छ,’ उनले भने, ‘दुवै डढेलो एकै प्रकृतिका भएकाले नियन्त्रणमा कठिनाइ भएको छ ।’
