वाग्मतीमा करिब ३ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

माघ २२, २०८१

प्रताप विष्ट

About 3 lakh girls are being vaccinated against cervical cancer in Wagmati

काठमाडौँ — हेटौँडा– वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौँडाले पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप करिब ३ लाख किशोरीलाई लगाउने भएको छ ।

प्रदेशका १३ वटा जिल्लामा ६ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालयमा अध्ययन नगर्ने १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई २ लाख ९८ हजार ३ सय ५ जना किशोरीलाई माघ २२ गते अर्थात मंगलबारदेखि  फागुन ६ गतेसम्म एचपिभी खोप लगाउन लागेको हो ।

स्कुलमा अध्ययन गर्ने ६ कक्षादेखि १० कक्षासम्मका २ लाख ७५ हजार २ सय ३ र स्कुलमा अध्ययन नगर्ने १० वर्षदेखि १४ वर्षसम्मका २३ हजार २ सय ३४ जना किशोरीलाई उक्त खोप लगाउने स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक डा. नरेन्द्रकुमार झाले बताए । 

उक्त खोप लगाउनका लागि वाग्मती प्रदेशमा ४ हजार ५ सय ७९ वटा खोप केन्द्र रहेका छन् । उक्त खोप केन्द्रमा ४ हजार ३ सय २४ जना स्वास्थ्यकर्मी र ८ हजार ७ सय ३६ जना महिला स्वयम्‌सेविकाहरु खटिएका छन् । 

यसैगरी मकवानपुरका बाईस हजार ७ सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी खोप) लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए । 

पहिलोपटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाउने लागेको हो । उनका अनुसार हेटौँडा–१०  भुटनदेवी मन्दिर नजिक रहेको ज्ञानदा माविका छात्राहारुलाई मंगलबार खोप लगाएर शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौँडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत एघार हजार ६८ जना र विद्यालय बाहिरका एक सय पाँच जना गरी एघार हजार १ सय ७३ जनालाई खोप लगाइने छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक रुपमा ४ महिलाको मृत्यु हुने गरेको छ ।

प्रताप विष्ट

Link copied successfully