मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित तीनजना पक्राउ

माघ १८, २०८१

सुवास विडारी

Makwanpur police arrested three people with drugs

मकवानपुर — मकवानपुर प्रहरीले अवैध लागूऔषध फरकफरक स्थानबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले डाइजेपामसहित २ जना र गाँजासहित एकजनालाई पक्राउ गरेको हो । डाइजेपामसहित पक्राउ पर्नेमा हेटौंडा-८ कमानेका ३० वर्षीय सुमन स्याङ्तान र १९ वर्षीय प्रसुल देउला रहेका छन् ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ९५९२ नम्बरको मोटरसाइकललाई जाँचको क्रममा २ जना पक्राउ परेका हुन् । प्रहरी चौकी रातोमाटेले हेटौंडा-१५ मा चेकिङको क्रममा उनीहरुलाई पक्रेको हो । 

शंकाको आधारमा चेकिङ गर्दा लागूऔषध डाइजेपाम १२ एम्पुल, नुर्फिन १९ एम्पुल र फेनार्गन १६ एम्पुल गरी ४७ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजासहित पक्राउ पर्नेमा पर्सा भौराटार–७ का ३० वर्षीय बिनोद सहनी रहेका छन् । प्रहरीले उनको साथबाट लागूऔषध गाँजा ५ किलो ५९० ग्राम फेला पारेको थियो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully