मकवानपुर — वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्र बारबाट सुरु हुँदै छ । सरकारले पर्याप्त बिजनेसबिनै डाकेको प्रदेशसभाको १५ औँ अधिवेशनको पहिलो बैठकमा कुनै पनि विधेयक पेस नहुने भएको छ ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशन सुरुआतको शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको छ ।
बिहीबार साँझ बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सभामुख पाठकका अनुसार प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा सदनलाई जानकारी गराउने समेत कार्यसूची निर्धारण भएको छ ।
आज नै संसद्को स्थापना दिवस रहेकाले मन्तव्यको कार्यसूची पछि बैठक स्थगित गरिनेछ । बैठक सकिएसँगै स्थापना दिवसको कार्यक्रम सुरुवात गर्ने तयारी प्रदेशसभा सचिवालयले गरेको छ ।
सदनको आगामी गतिविधि र कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षको छलफल पछि तय गरिनेछ ।
