काभ्रे — बौद्धमार्गी तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व २८६१ औं सोनाम ल्होछार काभ्रेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष (डुक ल्हो) गरुड वर्षलाई बिदाइ गर्दै डुल (सा पुख्री) ल्होलाई स्वागत गरिएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर-१२ स्थित शंखुमा शान्ति बुद्ध छोर्वा समाजको आयोजनामा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निदेर्शक कुलमान घिसिङले स्थानीय चाडपर्व, कला, संस्कार, संस्कृतिले देशको पहिचान बोकेको भएकाले यसको संरक्षण गर्नुपर्ने बताए । त्यस्तै, वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले चाडपर्व, कला संस्कृति नै देशको सम्पति भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाइचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व सहयोगी बन्नेमा विश्वास व्यक्त गरे ।
हरेक वर्षझैं यस वर्ष पनि काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर-४ स्थित बुद्ध पार्कमा बखुण्डोल बुद्धपार्क व्यवस्थापन समितिले सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले नगरका सबै समुदायका कला, संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
काभ्रेका तेमाल, रोशी, महाभारत, नमोबुद्ध, खानीखोला, बेथानचोक गाउँपालिकामा तामाङ समुदायले विभिन्न कार्यक्रम गरेर ल्होछार मनाएका छन् । जिल्लाको महाभारत, खानीखोला, रोशी, चौरीदेउराली, तेमाल, भुम्लु, बेथानचोक गाउँपालिका, नमोबुद्ध , मण्डनदेउपुर नगरपालिकाले पनि सोनाम ल्होछारका अवसरमा १६, १७ र १८ गते ३ दिन सार्वजनिक बिदा दिएका छन् ।
