बनेपाका भीमसेन दाहाल जब पोखरामा सहिद भए...

माघ १५, २०८१

ज्योती श्रेष्ठ

When Bhimsen Dahal of Banepa was martyred in Pokhara...

काभ्रे — २०६२ चैत २६ का दिन देवकी दाहाल बारीमा मकै छर्ने समय भएकाले कामकाजमै व्यस्त थिइन् । मध्यान्ह १२ बजेतिर पोखराबाट भाइको फोन आयो भन्दै छिमेकीले बारीमै खबर पुर्‍याए । उनलाई भाइले खबर सुनाए, ‘पोखरामा भएको आन्दोलनमा भिनाजुलाई गोली लागेको छ, अवस्था अलि गाह्रो छ, उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’ 

यो खबर सुनेपछि उनको होसहवास नै गुम्यो । लगत्तै घरमा पुग्दा मानिसको हुल थियो । किन यति धेरै मान्छे जम्मा भएका होलान् भन्ने उनलाई लागेको थियो ।

बनेपा नालाका भीमसेन दाहाल पोखरामा मारिएछन् भन्ने पनि सुनिन् । सुरुमा त उनले अरु नै भीमसेन दाहाल होलान् भनेर उनले त्यो कुरालाई बास्ता गरिनन् । घरमा आउने मान्छे थपिँदै गए । आउने जोकोहीले सोही कुरा भन्न थालेपछि उनको मनमा चिसो पस्यो । ‘भाइले त गोली लागेको हो, उपचार गर्न काठमाडौं ल्याउन लागेको भनेको थियो, उहाँ त्यस्तो खबर त होइन होला पनि सोचिन्,’ उनले त्यो दिन सम्झिँदै भनिन्, ‘दुईथरी कुराले मन निकै आत्तिन थाल्यो, दुई घण्टापछि स्पष्ट खबर आयो, पोखरामा आन्दोलनमा गोली लागेर मारिएका मेरै श्रीमान् रहेछन् ।’

त्यतिबेला प्रतिगमनविरुद्ध गरिएको आन्दोलनले देशभर कर्फ्यु जारी गरिएको थियो । त्यसैले दाहालको शवलाई पोखराबाट सिधैं बनेपा ल्याउन सक्ने स्थिति थिएन । चैत २७ गते हेलिकप्टरमार्फत शव बनेपा ल्याउने तयारी भयो । जताततै आन्दोलन, कर्फ्युले शव ल्याउन पनि ठूलो लडाइँ गर्न परेको उनले बताइन् । ‘मर्ने त मरेर गए, हामीले सास त देख्न पाएनौं,’ उनले भनिन्, ‘लास पनि देख्नै गाह्रो भएको थियो ।’

भीमसेन दाहाललाई पोखरामा मारिएपछि बनेपामा आन्दोलन चर्किएको थियो । त्यही आन्दोलनमा रोशीको भीमखोरीका शिवहरि कुँवर र बनेपा–८ का मुकेश कायस्थलाई गोली लाग्यो । शिवहरि कुँवरको घटनास्थलमै मृत्यु भयो, मुकेश कायस्थ १७ वर्षसम्म अर्धचेत अवस्थामा रहे ।

भीमसेन राजतन्त्रविरोधी भएकाले राजतन्त्रविरुद्ध जुलुस तथा आन्दोलनमा होमिने गरेको देवकीलाई स्मरण छ । उनका अनुसार पोखरामा अर्को विवाह गरेपछि उनी त्यहीँ व्यवसाय गर्दै आएका थिए । ‘आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली उहाँको कञ्चटमा लागेछ,’ उनले भनिन्, ‘घटनास्थलमै मृत्यु भएको रहेछ, देशमा लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि उहाँले आफ्नो ज्यान नै बाजी थाप्नुभयो ।’

देवकीका अनुसार घटनाका बेला ठूलो छोरा १२ र सानो छोरा ८ वर्षको थिए । उनले सुनाइन्, ‘जुन घाउ लाग्यो, त्यो त जिन्दगीभर निको हुँदैन, सरकार र विभिन्न निकायको सहयोगले छोराहरूलाई पढाउन त दुःख भएन, तर कुनै कुनै बेला व्यावहारिक कुरामा उहाँको अभाव खड्किँदो रहेछ ।’

समय बित्दै गएपछि सबैले बितेका कुरा भुल्दै जाने उनले बताइन् । उनका अनुसार सहिदले दिएको योगदानले देशमा धेरै परिवर्तन भए पनि सरकारले नसम्झेको उनले बताइन् । ‘सहिदको परिवारलाई अरु के नै चाहिन्छ र,’ उनले भनिन्, ‘सरकारले उहाँहरूको योगदान र त्यागलाई सम्झियोस्, मूल्यांकन गरियोस्, एक/दुई वर्ष सरकारले अलि सम्झिएजस्तो गरेको थियो, समय बित्दै गएपछि त सरकारले पनि बिर्सिंदो रहेछ ।

घटना भएको पनि १८ वर्ष भइसक्यो । देवकीले सुनाइन्, ‘अब त कसले पो सम्झन्छ र ? कुर्सीका लागि खिचातानीमै व्यस्त छ सरकार ।’

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully