काभ्रे — काभ्रेको रोशी गाउँपालिका–९ स्थित मंगलटारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहीबार सम्पन्न शिविरमा १ सय ४१ जना महिला र ४६ जना पुरुष लाभान्वित भएका हुन् ।
रुइत फाउन्डेसन काठमाडौं, रेयुकाइ ईको मासुनागा आँखा अस्पताल बनेपा र रोशी गाउँपालिकाको सहकार्य तथा समन्वयमा मंगलटार स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा गरिएको स्क्रिनिङमा दृष्टिसम्बन्धी समस्या, मोतियाबिन्दु, रेटिनासम्बन्धी समस्या लगायतका समस्या देखिएको रेयुकाई ईको मासुनागा आँखा अस्पताल बनेपाका दृष्टि विशेषज्ञ डा. रेहान मिकरानीले बताए । उनका अनुसार जसमध्ये १० जना पुरुष र २० जना महिला गरी ३० जनामा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
रुइत फाउन्डेसन काठमाडौं, रेयुकाई ईको मासुनागा आँखा अस्पताल बनेपा र रोशी गाउँपालिकाको सहकार्य तथा समन्वयमा शुक्रबार ३० जनाकै मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिनेछ । उनीहरूलाई बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालसम्म आउनका लागि निःशुल्क यातायात र उपचारको समय अवधिभर खानाको पनि निःशुल्क व्यवस्था गरिएको थियो । 
त्यस्तै, शिविरमा आँखा जाँच गराएका मध्ये ५० जनामा दृष्टिसम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि रेयुकाई इको मासुनागा आँखा अस्पताल बनेपा रेफर गरिएको उनले जानकारी दिए । त्यस्तै, २९ जनालाई चस्मा प्रदान गरिएको र ५ जनालाई रेटिनासम्बन्धी समस्या देखिएको उनले बताए ।
शिविरमा आँखा जाँच गराएकामध्येलाई आवश्यकताका आधारमा निःशुल्क औषधि वितरण गरिएको थियो ।
