अरनिको राजमार्ग मर्मत नगरिँदा जोखिमपूर्ण यात्रा  

माघ ८, २०८१

अनिश तिवारी

सिन्धुपाल्चोक — अरनिको राजमार्गको बाह्रबिसे-काठमाडौं सडकखण्ड मर्मत नगरिँदा जोखिमपूर्ण यात्रा गर्नु परेको छ । बर्खामा भासिएको र नदी कटानका कारण जीर्ण बनेको राजमार्ग मर्मत नगरिँदा जोखिम मोलेर यात्रा गर्नु परेको हो ।

तातोपानी नाका र बाह्रबिसेबाट राजधानी पुग्ने ८७ किलोमिटर लामो अरनिको राजमार्गको महभीर, कोठे, सिम्लेलगायत आधा दर्जन स्थानमा दुईदेखि चार किलोमिटर सडक भासिएको थियो  । यसबाहेक जुरे, सुकुटे, बन्देउ, सिम्ले, बलेफीलगायतका स्थानमा बर्खामा पहिरोले हिलाम्य र हिउँदमा धुलाम्य बनाउने गरेको छ । सिम्लेदेखि दोलालघाटसम्म जंगल सोहोरिएर आएको सुख्खा पहिरो खस्ने त्रास छ ।

डिभिजन सडक कार्यालय चरिकोटका अनुसार बर्खाभर अरनिको राजमार्गका यी खण्डमा जमिन भासिनेर पहिरोले दैनिकजस्तो अवरोधको समस्या हुने गरेको छ । डिभिजन प्रमुख अमित श्रेष्ठले कोठे र सिम्लेमा यो समस्या रहेको बताए । यसको मर्मतसम्भार र पुनर्निर्माणका लागि मन्त्रालयमा पेस गरिसकेको बताए ।  

कोदारी राजमार्गको २६ किलोमिटर त्रासपूर्ण यात्रा सकेर तातोपानी नाकाबाट भित्रिएका कन्टेनरका सवारी चालक महभीर, सिम्ले, कोठेको सडक खण्ड देखेर आजित हुने गर्छन् । पानी परेपछि सवारी आवाजजावत ठप्प हुन्छ । पैदल हिँड्नसमेत बाटो नभएपछि स्थानीय आत्तिने गरेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

जुरे र महभीर खण्डमा मर्मतसम्भार र निर्माणमा करोडौं खर्च भइसकेको छ । बर्खैपिच्छे पहिरोले पुरिएर यो खण्ड ध्वस्त हुने गरेको स्थानीय बुद्धमाया तामाङले बताइन् । ‘कोठेमा सडक भासिएको वर्षौं भइसकेको छ भने सिम्लेमा उस्तै जोखिममय हविगत छ, जीर्ण सडकको यात्राले यहाँ सवारी दुर्घटनाको जोखिम झनै बढाएको छ,’ उनले भनिन् ।

गत वर्षयता जुरेको माथिल्ला लेदो र ढिस्का ओइरिएर सडकमा थुप्रिँदै बगाउन थालेपछि सुनकोशी नदी थुनिने जोखिम बढाएको छ । राजमार्गको महभीर र बलेफी बजारछेउको सडक तलबाट क्रमशः भासिँदै गइरहेको छ । यसबारे जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले अरनिको राजमार्गको जुरे महभीरझैं ग्रामीण सडकमा समस्या यथावत रहेको उल्लेख गरे ।

जिल्लाको तीन नगर र नौ गाउँपालिकाभरको दुर्गम गाउँभेग जोड्ने सडक बर्खायता अवरुद्ध भएपछि स्थानीय समस्यामा परेका छन् । जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट विभिन्न गाउँ जोड्ने मात्रै ५५ सडक मध्ये अधिकांश पहिरोले अवरुद्ध हुने अवस्थामा छन् । जिल्लाभरमा २५ सय किलोमिटर ग्रामीण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुई सय किलोमिटर कालोपत्र गरिएको छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully