बेसहारा आमाहरूको सहारा बन्दै आमाघर

माघ ८, २०८१

प्रताप विष्ट

Mother home becoming a support for destitute mothers

हेटाैंडा — ६६ वर्षीया शाकुन्तला गाडिया फूलबिरुवाको रेखदेखमा व्यस्त छिन् । उनकै उमेर वयकी ममता शर्मा भान्छामा खाना पकाइरहेकी छिन् । यो दृश्य हो, मनहरी गाउँपालिका-८ स्थित आमाघर आश्रमको । यहाँ अहिले शाकुन्तला र ममता जस्तै ९ जना आमाहरूले आश्रय लिइरहेका छन् । आश्रममा आठ पुरुष र चार बालबालिका पनि आश्रित छन् ।

३ कठ्ठामा फैलिएको आमाघरमा तरकारी खेतीदेखि गाईपालनसम्म गरिएको छ । यहाँको उत्पादन आश्रममा आश्रितहरूका निम्ति खपत भइरहेको छ । ब्रह्मकुमारी राजयोग मनहरी उपशाखा संचालन गर्दै आएका विजयराज सिग्देलले पीडादायी र कष्टकर जीवन व्यतित गरिरहेका आमाहरूलाई आश्रय दिनका लागि आमाघर निर्माण गरिएको बताए ।

२०७५ सालदेखि संचालनमा आएको आमाघरमा ८० जनालाई आश्रय दिने क्षमता रहेको छ । यहाँ आश्रित ममता शर्माले आश्रममा बस्दा आफूहरूको मन शान्त भएको बताइन् ।

थाहा भनेर चिनिने स्व. रुपचन्द्र विष्टको स्मरणमा आमाघरभित्र करिब ५ सय अट्ने पुस्तकालय पनि संचालनमा ल्याइएको छ । विभिन्न तहका सरकार र दातृ निकायको सहयोगमा करिब १७ करोड ८० लाख रुपैयाँको लागतमा आमाघर र सँगै पिसपार्क निर्माण गरिएको छ  ।

पिसपार्क भने १२ बिघा जमिनमा   फैलिएको छ । आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले असहाय आमाहरूलाई निःशुल्क सेवा दिनका लागि आफूहरूले आमाघर संचालनमा ल्याएको बताए ।

प्रताप

Link copied successfully