चितवन — चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिमाथि कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती निलम्बनमा परेका छन् । चितवन प्रहरीले असई घर्तीलाई सोमबार निलम्बन गरेको हो ।
रातको समयमा भरतपुरको बाइपास सडक क्षेत्रमा एक व्यक्तिमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । चितवनको भरतपुर महानगरपालिका ११ बसेनी चोकमा असई भुजेलले एक युवकलाई कुटेको भिडियो सार्वनजिक भएको थियो । प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो आइतबारदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
पुस १२ गतेको घटना भएपनि चितवन प्रहरीले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै अनुसन्धान थालेको थियो । चितवन प्रहरीले नै पुस १२ को घटना भएको जनाएको छ ।
असई घर्ती भरतपुरको वडा नम्बर ११ अस्थायी प्रहरी पोस्ट गणेशस्थानमा कार्यरत थिए ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे सर्वत्र चासो आइरहेकोमा सत्यतथ्य पत्ता लगाउन प्रहरीले उनलाई निलम्बन गरेर छनबिन समिति नै बनाएर थप अनुसन्धान थालेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले दाबी गरेका छन् ।
भिडियोमा एक युवकमाथि प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीले रातको समयमा मोटरसाइकलको लाइसेन्स जाँच गरिरहेको पनि देखिन्छ । भिडियोमा सडकपेटी छेउमा सेतो सर्ट लगाएका युवकलाई प्रहरीले लात्तीले हानेको देखिन्छ भने 'कसलाई फोन गर्छस् गर्' भन्ने आवजसमेत सुनिन्छ ।
