हिउँपानी पर्खंदै शैलुङका आलु किसान

माघ ४, २०८१

केदार शिवाकोटी

Potato farmers of Shailung waiting for snow

दोलखा — शैलुङ गाउँपालिका–८ कालापानी की सञ्चिता केसीको बारीमा आलु रोप्ने चटारो छ । आलु रोप्न व्यस्त उनी आकाश हेर्दै हिउँपानी पर्छ कि भनेर छिनछिन्मा माथितिर हेर्छिन् । माघको पहिलो साता बित्न लाग्यो । जिल्लामा एक झर्को पानी र हिउँ भने परेको छैन ।

विगतमा मंसिरबाटै उच्च पहाडी र हिमाली क्षेत्र हिमपातले सेताम्मे हुने क्षेत्र उराठलाग्दो कालापथ्थर बनेका छन् । पुसमध्यबाट माघ दोस्रो सातासम्म यही बेलामा उच्च पहाडी र हिमाली क्षेत्रका किसानले आलु लगाउँछन् । जिल्लाको मुख्य नगदे बाली हो आलु ।

नौ वटै स्थानीय तहको माथिल्लो भेगको ३२ सय हेक्टर क्षेत्रको जमिनमा किसानले व्यावसायिक आलु खेती गर्दै आएका छन् । आलु रोपेपछि एक झर हिउँपानी परे माटो मलिलो भएर आलुले छिट्टै टुसा उम्रने बताउँछिन् सञ्चिता । ‘गएको वर्ष पनि समयमा हिउँपानी परेन, यो वर्ष पनि माघ लागिसक्यो,’ उनले भनिन्, आलु रोपिसक्न लाग्यौँ, एक झर हिउँ पर्दिए हुन्थ्यो, २/४ वर्ष भयो समयमा हिउँपानी नपरेको, आलु नसप्रेको ।’

 क्रपकटिङ विधिअनुसार जिल्लाको नौ वटै स्थानीय तहमा ६५ हजारदेखि ७० हजारसम्म आलु उत्पादन हुन्छ । क्रपकटिङमा प्रति १० वर्गमिटर बराबर २६देखि ४० केजी आलु उत्पादन हुन्छ । पछिल्लो तथ्याङ्कमा आलु रोप्ने किसान र क्षेत्रफल बढे पनि उत्पादनमा भने ह्रास भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाबाट वार्षिक ५८ हजार मेट्रिक टन बराबरको आलु तराई र राजधानी निर्यात हुँदै आएको छ । त्यसबापत जिल्लामा ७० देखि ७५ करोड रुपैयाँ भित्रिने गर्छ । हिउँदको आलु पुसदेखि माघ मध्यसम्म रोपेर असारदेखि साउन अन्तिमसम्म खन्ने गरिन्छ ।

जिल्लाको सबैभन्दा बढी आलु निर्यात शैलुङ गाउँपालिकाबाट हुँदै आएको छ । शैलुङबाट बार्षिक ३६ करोडबराबरको आलु निर्यात हने गरेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका किसानले व्यावसायिक आलु खेतीबाट ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको बताउँछन् । आलु रोप्दै गरेका शैलुङ–८ का खड्गबहादुर थपलिया । ‘आलु रोप्ने मुख्य सिजन हो हाम्रोतिर, तर हिउँ पानी परेको छैन,’ उनले भने, ‘रोपेपछि एक झर हिउँपानी नपरे टुसा उर्मन समय लाग्छ, चिस्यान नभए बारीमै खडेरीले खाइदिन्छ, आलुको चिस्यान भनेकै हिउँ पानी हो ।’ हिमाली क्षेत्रमा आलु रोपेपछि हिमपातले बारी छोपेमा आलुमा चिस्यान पुगेर सप्रने उनले बताए ।

Potato farmers of Shailung waiting for snow‘हामीहरूको घर खर्च र छोराछोरी पढाउने यहि आलुबाटै हो, यो बाली भएन भने हातमुख जोड्न धौधौ हुन्छ,’ उनले भने, ‘हरेक वर्ष समयमा हिउँपानी पर्न छाड्यो, आलु पनि खडेरीले खाएर आम्दानी राम्रो लिन सकेका छैनौं ।’ मौसमी चक्रमा भइरहेको फेरबदलले सबैभन्दा बढी उच्च पहाडी र हिमाली क्षेत्रका किसानलाई प्रभावित बनाएको छ । समयमा हिउँपानी नपर्दा हिमाली क्षेत्रका किसानले लगाएको आलुखेतीमा असर गर्दै आएको शैलुङ–८ की निर्मला थपलियाले बताइन् ।

‘आलु रोपिसक्यौँ, हरेक दिन आकाशमा बादल मडारियो कि भनेर हेर्छु, एक झर हिउँ पर्छ कि भनेर,’ उनले भनिन्, ‘आलु सप्रेला भनेर मलजल गरिसके, तर चिस्यानका लागि एक छिटो हिउँ परेन ।’ गएको वर्ष ४ लाख जति आलु बचेर कमाइ भएको उनले बताइन् । ‘यो वर्ष पनि गएको बर्ष जस्तै भयो, अहिलेसम्म हिउँ पानी देख्न पाएका छैनौं,’ उनले भनिन्, ‘यसरी नै हरेक वर्ष आलु रोप्ने समयमा हिउँ पानी पर्न छोड्यो भने खेती गर्न पनि सकिँदैन, रोपेको आलु माटोमुनि खडेरीले खाइहाल्छ, हामी के खाने ?’

आलु रोप्न बेला र सप्रने बेलामा हिमपात र हिउँदे वर्षा भएकामा खेती सप्रने स्थानीयको भनाइ छ । समयमा हिमपात र हिउँदे वर्षा नहुँदा माटोमा चिस्यान नपुगेर आलु मर्ने गरेको उनीहरु बताउँछन् । आलु रोपिसकेकाहरू बाली सपार्न मलजल गर्ने चटारो छ । कतिपय किसान हिउँपानी परेपछि मलजल गर्ने तयारीमा छन् ।

केदार शिवाकोटी

Link copied successfully