चितवन — पवित्र धार्मिकस्थल देवघाटधाममा मकरस्नानका लागि मंगलबार बिहान सबेरैदेखि दुई नदीको संगमस्थलमा भक्तहरूको घुइँचो लागेको छ । अघिल्लो दिन बिहान कालगण्डकी र त्रिशूली नदीको संगमस्थलमा विधिवत् लिंगो गाडेपछि मकरस्नान सुरु भएको मानिन्छ । तर संक्रान्तिको दिन सबेरै तीन बजेपछि घुँइचो बढ्छ ।
'म चार बजे बिहानै संगमस्थल नजिक राखेको हाम्रो सचिवालयस्थलमा आइपुग्दा मान्छेहरू स्नान गरेर फर्केका थिए । भीडभाड भइसकेको थियो,' देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले भने ।
मकरस्नानका लागि स्वदेशबाट मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट पनि लाखौँ भक्तजन आउने गर्दछन् । यो पटक पनि पाँच लाख जतिले मकरस्नान गर्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष रानाको आकलन छ ।
हिन्दुहरू त्रिशूली र कालगण्डकी नदीलाई पवित्र मान्छन् । देवघाटमा यी दुवै नदी मिलेका छन् । जहाँ मकर संक्रान्तिमा स्नान गर्न देवताहरू पनि आउने धार्मिक विश्वास छ ।
मुख्य संगमस्थल तनहुँमा रहे पनि देवघाटधामले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लालाई पनि छोएको छ । चितवनको नारायणगढ बजारबाट लगभग सात किलोमिटर उत्तर पूर्वमा देवघाट रहेको छ । नारायणगढ हुँदै देवघाटधाम छिट्टो पुग्न त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुल तर्नु पर्दछ ।
तर मुग्लिन-नारायणगढ सडकको दासढुंगा र रामनगरबाट भित्र ठुमुराबाट पक्की पुल तरेर देवघाट पुग्न सकिने सुविधा छ । यसका साथै नवलपरासी गैँडाकोट- हर्दी-केलादीबाट पनि पक्की पुल तरेर देवघाट आउन सकिन्छ । जुगेडीमा अर्को पुरानो झोलुङ्गे पुल पनि छ । संगमस्थलबाटै वारपार गर्न डुंगा, र्याफ्टिङ र बोटहरू पनि छन् ।
'पहिलाको जस्तो एउटै मात्र झोलुङ्गे पुल या डुङ्गाबाट आरपार गर्नु पर्ने बाध्यता अहिले छैन । तीन वटा त गाडी गुड्ने ठूला पक्की पुल छन् । स्नानका लागि आउने भक्तजनको सङ्ख्या बढ्दो छ,' देवघाट गाउँपालिकाका प्रवक्ता रहेका वडा नम्बर ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले भने ।
