कात्तिकमा हराएका ७० वर्षीय टीकाराम प्रजा मृत भेटिए

पुस २९, २०८१

सुवास विडारी

70-year-old Tikaram Praja, who went missing in Kattik, was found dead

मकवानपुर — गत कात्तिक १४ गतेबाट हराएका मकवानपुरको कैलाश गाउँपालिका-७ भार्ताका ७० वर्षका टीकाराम प्रजा भीमफेदी २ मा मृत अवस्थामा फेला परेका छन् ।

उनको शव सडेको अवस्थामा फेला परेको हो । आफ्नै भान्जीको घर भीमफेदी-९ स्थित घडेरी जाने क्रममा हराएको भन्दै उनका भतिज रामहरि प्रजाले मिति मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदनसमेत दिएको पाइएको छ । सडेको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान गर्ने क्रममा कात्तिक १४ गतेबाट हराएका प्रजाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाको आधारमा मृतकको भान्जी पम्फा चेपाङले शवको सनाखत गरेको प्रहरीले बताएको छ ।

प्रजाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully