कर्माचार्यले गरे १८१औं पटक रक्तदान

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Karmacharya donated blood for the 181st time

नुवाकोट — नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले नुवाकोटमा पुगेर १८१औं पटक रक्तदान गरेका छन् । 

विदुर सिटी युथ क्लब र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन् । कर्माचार्य नेपालको आपत्‌कालीन रक्तसञ्चारको नामले पनि परिचित छन् ।

काठमाडौं महानगरपालिका-२८ बागबजारका उनले रक्तदाताले दिएको रगत बिरामीलाई नि:शुल्क उपलब्ध गराउनु पर्ने बताउँदै आएका छन् । विभिन्न जिल्लामा गई रक्तदान गर्दै उत्प्रेरणा जगाउँदै आइरहेका कर्माचार्यले यो पटक नुवाकोटको विदुर आएर रक्तदान गर्न पाउँदा निक्कै खुशी लागेको बताए । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको उनको भनाइ छ । 

आयोजक संस्थाले पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव र विदुर कल्याणकारी बहुमुखी सहकारीको २७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully