नेतालाई गाली गरेर मात्र देशको विकास हुन्न : मुख्यमन्त्री लामा

पुस २४, २०८१

सुवास विडारी

The development of the country is not possible only by abusing the leader: Chief Minister Lama

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेतालाई गाली गरेर मात्र मुलुकको विकास नहुने तर्क राखेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिदेखि सबै क्षेत्रमा सुधार जरुरी रहेको औंल्याएका हुन् । 

‘नेतालाई गाली गरेर मात्रै देशको विकास हुँदैन । सरकारले सुधार्नुपर्ने कुरा सुधारका लागि तयार छौं । ठूलो कुरा गरेर मात्र हुँदैन, काम गर्नुपर्छ,’ उनले भने, ‘सबै क्षेत्रमा रहेका व्यक्ति जिम्मेवार हुने हो भने मुलुकको विकास सम्भव छ ।’ नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि नेतादेखि सर्वसाधारणसम्मको सम्पति अद्यावधिक गर्नुपर्नेमा मुख्यमन्त्री लामाले जोड दिए ।

उद्योग क्षेत्र फस्टाएमा मात्र मुलुकमा रोजगारीको अवस्था सृजना हुनसक्ने भन्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको औंल्याए । ‘अझै उद्योग र यससँग सम्बन्धित धेरै ऐन कानुन बनाउन आवश्यक छ । उद्योगी व्यवसायीको हकहितमा के कस्ता कानुन बनाउनुपर्ने हो सल्लाह गरौं, हामी सल्लाह सुझावलाई मननन् गर्दै अघि बढ्न तयार छौं,’ उनले भने । नेपालभन्दा कमजोर मुलुकले विकासमा फड्को मारिसकेको उदाहरण दिँदै उनले यहाँ उत्पादन भएको भन्दा बाहिरबाट ल्याएको सामान सस्तो हुने अवस्थाको अन्त्य हुनुपर्ने सुझाव दिए ।

उत्पादनमूलक उद्योगलाई राज्यले समेत सहयोग गर्नुपर्ने मुख्यमन्त्री लामाको भनाइ थियो । ‘प्रदेशमा लगानीमैत्री वातावरण बनाउन लागिपरेका छौं । लगानी प्राधिकरण बनाएर लगानी भित्राउने योजनामा छौं,’ उनले थपे, ‘लगानी सुरक्षित हुने अवस्था भए मात्रै लगानीको वातावरण बन्छ ।’

प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले मकवानपुरको विकासका लागि हेटौंडा-कुलेखानी सुरुङमार्ग बन्न जरुरी रहेको धारणा राखे । कोरोनाभन्दा कडा भाइरसको रुपमा सहकारीको रकम हिनामिना भाइरस आएको भन्दै उनले यस्तो भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कारबाही हुनुपर्ने माग गरे । अधिवेशनको उद्घाटन सत्रमा कान्तिपुरकर्मी प्रताप विष्टलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई नगदसहित सम्मानित गरिएको थियो ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully