बालबालिकालाई न्यानो टोपी

पुस २२, २०८१

केदार शिवाकोटी

A warm hat for children

दोलखा — विद्यालयका किशोरीलाई आत्मरक्षा तालिम दिँदै आएको कोच नेपालले भीमेश्वर नगरपालिकाका विद्यालयमा जाडोमा ‘प्रोजेक्ट न्यानो’ अभियानअन्तर्गत १ हजार १ सय जनालाई न्यानो टोपी वितरण गरेको छ ।

कोच नेपालले वडासँगको समन्वयमा ७ वटा विद्यालयसहित गुम्बाका लामाहरूलाई चिसो छल्न न्यानो टोपी वितरण गरेको वडा नं. ७ का अध्यक्ष विनोद तामाङले बताए ।

अति विपन्न वर्गका बालबालिका अध्ययन गर्ने विद्यालयका विद्यार्थीका लागि विद्यालय पोसाक सुहाउँदो न्यानो टोपी कोच नेपालले वितरण गरेको उनले बताए । हिमाली क्षेत्रका बालबालिका लागि चिसो छल्न ‘प्रोजेक्ट न्यानो’ नाम दिएर कान छोप्ने टोपी लगाएर विद्यालय आउने वातावरण बनाउन यो अभियान संचालन गरिएको कोच नेपालका प्रमुख सिमोन खत्रीले बताए । 

‘चिसो बढेपछि खासगरी बालबालिका विद्यालयमा नजाने समस्या रहेछ,’ उनले भने, ‘बालबालिकालाई जाडोमा विद्यालयसम्म ल्याउनका लागि पहिलो चरणमा यो अभियान थालेका छौं ।’ भीमेश्वरको २ र ७ का ७ वटा विद्यालयका १ हजार १ सय विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको उनले बताए ।

यस्तै जाडोको समयमा हुने समस्याका र चिसोबाट जोगिने व्यावहारिक ज्ञान पनि दिइएको उनले बताए । विद्यालयका बालबालिकालाई जाडोमा आगो बालेर सुत्दा हुन सक्ने दुर्घटनाका विषयमा सतर्कता अपनाउने विषयमा पनि व्यावहारिक ज्ञान दिइएको उनले बताए ।

केदार

Link copied successfully